आश तमु , पोखरा – कास्कीको पोखरा स्थित स्थित जिल्ला प्रशाशन कार्यालय अगाडी बिहीबार बिहान फरक दृश्य देखियो। विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर पोखरेली युवाहरूले सरकारलाई खबरदारी गरे।पोखराको राष्ट्रबैंक चोकदेखि शहीदचोकसम्म बिहीवार बिहान ११ देखि मध्याह्न १२ बजेसम्म स्थानीय युवाले ५ वटासम्म घेरा बनाएर विभिन्न नाराअंकित प्लेकार्डसहित मौन र शान्तिपूर्ण धर्ना दिए ।
लकडाउनको ८१ औ दिन पोखरेली युवाहरुले स्वत:स्फूर्त रूपमा सडकमा उत्रिएर सामाजिक दूरी कायम राखी प्रदर्शन गरेका हुन्। अव त अलि भयो , कार्पेट त फेरीयो ,अव सोच कहिले फेरिने ? ,‘कोरोना परीक्षणमा १०० प्रतिशत पिसिआर लागू गर, किट किन्ने हो कार्पेट होइन, दश अर्ब खोइ?, कर केका लागि?’ लेखिएका प्लेकार्ड बोकेर युवाले शान्तपूर्ण प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री ओलीले संसदमा बुधबार नेपालीहरूको रोगप्रतिरोधात्मक क्षमता बढी भएको बताएका थिए।
विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन
विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन भएको छ । लकडाउनको ८० औं दिन केही खुकुलो भएपछि विराटनगरका युवाहरु सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थित रुपले गर्न नसकेको भन्दै विरोध प्रदर्शनमा उत्रेका हुन् ।
ललितपुरको ग्वार्कोमा विरोध प्रदर्शन
ललितपुरको ग्वार्कोमा पनि बिभिन्न नाराहरु लाउँदै सामाजिक दूरी कायम गरेर विरोध प्रदर्शन भएको छ । सामाजिक सञ्जालमार्फत गरिएको आह्वान पछि भेला भएकाहरुले ‘कर के का लागि, जनतालाई खै खाना, सरकारलाई जीमखाना, बाँच्नलाई हाकाकार मरेपछि पीसीआर, भ्रष्टाचार कि पीसीआर लगायतको नारा लेखिएका पोष्टरहरु बोकेर प्रदर्शन गरिएको थियो ।
चितवन भरतपुरमा विरोध प्रदर्शन
चितवनको भरतपुरस्थित चौबिसकोठीमा पनि बिभिन्न नाराहरु लाउँदै सामाजिक दूरी कायम गरेर विरोध प्रदर्शन भएको छ । सामाजिक सञ्जालमार्फत गरिएको आह्वान पछि भेला भएकाहरुले राष्ट्रिय झन्डा र गीत बजाउँदै विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर युवाहरूले सरकारलाई खबरदारी गरे।‘नो पिसिआर नुन, तेल, बेसार कोरोनाको उपचार: डा। केपी ओली’ लेखिएको प्लेकार्ड प्रदर्शनमा उत्रिएकाहरूले लिएका छन्।
बालुवाटार अगाडि प्रदर्शनमा पानीको फोहोरा र अश्रुग्यास प्रहार
कोरोनाभाइरसको संक्रमण बढिरहँदा स्वास्थ्यका पूर्वाधार बढाउनुपर्ने, आरडीटी परीक्षण रोकेर पीसीआर विधिबाट मात्र जाँच्नुपर्ने, क्वारेन्टिन गुणस्तरीय बनाउनुपर्ने, कोरोना नियन्त्रणमा भएको खर्च पारदर्शी बनाउनुपर्ने लगायत माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि भएको प्रदर्शनमा प्रहरीले उनीहरुलाई पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर तितरवितर पारेको थियो। ४-५ राउन्ड अश्रुग्यास पनि हानिएको एक प्रदर्शनकारीले बताए ।
तस्विर सन्देश वराल