logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त


  • रासस
  • शुक्रबार, असार १९ २०७७

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन्।

शारीरिक रुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो।

स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिलाउनका लागि पहल थालेका थिए।

सांसद सुदन किराँतीको निर्देशनपश्चात् केही महिनाअघि नै सार्कीलाई नागरिकता वितरण गरेर राज्यबाट पाउने सेवा सुविधाका लागि पहल गर्ने तयारी गरिएको भए पनि लकडाउनले ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।

सार्कीलाई नागरिकता वितरणका लागि सांसद किराँती पनि बुधबार प्याउली पुगेका थिए।

हेरचाह गर्ने अन्य कोही नभएकाले अधिकारकर्मीको अगुवाइमा सार्कीलाई मानव सेवा केन्द्र विराटनगर लैजाने तयारी गरिएको अधिकारकर्मी सम्झना प्रधानले जानकारी दिए।

लामो समयदेखि सडकमा बसेर मागेर खाँदै आएका सार्कीलाई अरुण गाउँपालिका– २ को सिफारिसमा वंशजका आधारमा नागरिकता दिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईंटेलले जानकारी दिए।

उनले आफ्नो नाम बताउन नसक्ने भएकाले स्थानीयले बोलाउँदै आएको लाटा सार्कीको नाममा नागरिकता दिएको उनको भनाइ थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार