logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कास्कीमा काली नाग समेत भनिने दुर्लभ ‘किङ कोब्रा’भेटिएपछि संरक्षण शुरु


  • रासस
  • बुधबार, असार ३१ २०७७

तस्विर रोहित गिरी सर्प सरक्षक पोखरा तस्विर रोहित गिरी सर्प सरक्षक पोखरा

तस्विर रोहित गिरी सर्प सरक्षक पोखरा

पोखरा- जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधि लगायतका संस्था तथा व्यक्तिहरु जुटेका छन् ।

काली नागसमेत भनिने सो सर्पको गुँड फेला परेपछि सोही स्थानमा संरक्षण गर्न निगरानीका लागि ‘क्यामेरा ट्राप’ राखिएको र वरिपरि तारजाली लगाउने काम भइरहेको एक्यापका संरक्षण अधिकृत ऋषि बरालले बताए । सो सर्प अन्दाजी १० फिट लामो रहेको छ । सबैभन्दा विषालु किङकोब्रा गुँड बनाएर अण्डा पार्ने एक मात्र सर्प प्रजाति भएको बरालले बताए । यसले ६० देखि ९० दिनभित्रमा बच्चा निकाल्ने अनुसन्धानकर्ता बताउँछन् ।

“अन्नपूर्ण संरक्षण क्षेत्रभित्र देखिएको किङकोब्राको गुँड संरक्षण र यसलाई अवरोध नहोस् भनेर सबैतिर तारजाली लगाउन शुरु गरेका छौँ, ”संरक्षण अधिकृत बरालले भने, “क्यामेरा ट्रापसहित स्थानीयवासीलाई समेत आवश्यक सचेतना शिविर सञ्चालन गरेका छौँ ।” किङकोब्राले अण्डा पारेपछि पतकरको बीचमा सुरक्षित गरेर गुँडको सुरक्षा गर्ने र बच्चा निस्कनु सातदेखि १० दिनअघि यसले गुँड छाडेर जाने गरेको संरक्षणकर्मीको भनाइ छ । यस अवधिमा यो सर्प अन्यत्र टाढा नजाने र गुँडको सुरक्षा गरेर बस्ने गरेको बताइन्छ ।

किङकोब्राको मुख्य आहारा नै अन्य प्रजातिका सर्प र मुसा रहेको छ । कास्कीमा सन् २०१६ मा पहिलोपटक दाङसिङमा कोब्राको गुँड भेटिएको थियो । त्यसपछि सन् २०१७ मा धम्पुसफेदीमा, सन् २०१७ मा स्याङ्जामा त्यसको एक वर्षपछि पुनः धम्पुसमा भेटिएको थियो । यस वर्ष कास्की र पर्वतमा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

यो समुद्री सतहदेखि दुई हजार मिटरदेखि दुई हजार ५०० सम्मको उचाइमा पाइने गरेको बताइन्छ । यसलाई अवरोध नगरेसम्म मानिसलाई केही नगर्ने एक्याप ल्वाङका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक लेखनाथ गौतमले बताए । उनले भने, “किङकोब्रा सर्प लजालु र भद्र स्वभावको हुन्छ, यसलाई अवरोध नहुँदासम्म केही गर्दैन, अण्डा कोरल्ने बेलामा बढी आक्रामक हुन्छ ।” यो सर्प लोपोन्मुख प्रजातिअन्तर्गत ‘साइटिस टु’मा पर्ने उनले बताए ।

सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्सालले दुई साताअघि ठूलो र लामो आकारको सर्प देखिपछि एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समिति, सर्प संरक्षण समाजलगायतका संस्थामा खबर गरिएको जानकारी दिए । हाल विभिन्न संस्थाबाट संरक्षणको प्रयास भइरहेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार