राजनीति
कुखुरामा बर्डफ्लू प्रमाणित भएपछि संकटग्रस्त क्षेत्रमा कुखुरा मार्न गएका चितवनका प्राविधिक टोलीलाई किसानले रोकेका छन् ।
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ९ सुर्तनीका दुई फार्ममा बर्डफ्लू प्रमाणित भएपछि त्यस क्षेत्रमा टोली घरपालुवा पक्षी मार्न पुगेका थिए।
किसानले संकटग्रस्त क्षेत्रमा पर्ने धीरज श्रेष्ठ र सुरेश रिजालका दुई खोरका कुखुरा मार्ने क्रममा रोकेका हुन्। नौ हजार लेयर्स कुखुरा रहेको श्रेष्ठको फार्मको तीन हजार पाँच सय र चार हजार चार सय कुखुरा रहेको रिजालको खोरको एक हजार कुखुरा मारेपछि उनीहरुले थप कुखुरा मार्न दिएका छैनन्।
नजिकै रहेका ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मार्न थालेको भन्दै प्राविधिक टोलीले निर्धारण गरेको संकटग्रस्त क्षेत्र पूर्वाग्रही भएको भन्दै किसानले रोकेको जनाएका छन्।
हाल कुखुरा मार्दै गरेको फार्म एक किमी ३०० मिटर टाढा रहेको भन्दै प्राविधिक टोलीले ठूला फार्मलाई जोगाएर क्षेत्र निर्धारण गरेको किसानको गुनासो रहेको छ
मारिएका कुखुराको मूल्यांकन गरेर पठाएको क्षति रकममध्ये ७५ प्रतिशत मात्रै क्षतिपूर्ति किसानले पाउने व्यवस्था छ। त्यसका लागि पनि समय लाग्ने र झन्झटिलो हुने हुँदा जोखिम नभए किन कुखुरा मार्ने भन्ने पक्षमा किसान देखिएका छन्।
प्राविधिक टोलीले सोही क्षेत्रमा शुक्रबार स्थानीय जातका कुखुरा र हाँस गरी १५० वटा मारेको थियो
बिहीबारको मन्त्रिस्तरको निर्णयपछि शुक्रबार फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम शुरु गरिएको थियो।
राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो। सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेका छन्।
नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लू देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको थियो तर पनि यहाँ बर्डफ्लू देखिएको हो।
कुखुराजन्य क्षेत्रमा नेपालमा रु ७० अर्ब भन्दा बढी लगानी रहेको छ। जसमध्ये आधाभन्दा बढी लगानी चितवनमा छ। यसअघि विसं २०७० मा जिल्लामा बर्डफ्लू देखिएको थियो।