आश तमु, पोखरा- जिल्ला अदालत कास्कीले बलात्कार आरोपित सशस्त्र प्रहरीका एसएसपी राजेन्द्रप्रसाद अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
थुनछेक बहसपछि जिल्ला न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा पठाउन आदेश गरेको हो । ‘मिसिल संलग्न तत्काल बुझेका प्रमाण काजगहरुसमेतबाट यी प्रतिवादी निर्दोष रहेछन् भन्ने विद्यमानता नहुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाल प्रतिवादी राजेन्द्र अधिकारीलाई मुलुकी फौजदारी संहिता २०७४ को दफा ६७ (१) बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्न सोही संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई जिल्ला कारागार कास्कीमा पठाइएको,’ आदेशमा भनिएको छ ।
असार ३१ गते चितवनकी १ महिलालाई एसएसपीले सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको कार्यालयमा खाना खान बोलाएर बलात्कार गरेको आरोपसहित कास्की प्रहरीको कन्ट्रोल रुममा मौखिक रिपोर्ट दिएकी थिइन् ।
सोही दिन तत्कालै उनलाई कास्की प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो ।