जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेण्टमा आइतवार साँझ भएको आगलागीमा ७ जना नेपालीको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा ९ वर्षको बालकसहित चार पुरुष र तीन महिला रहेका छन्। प्राप्त जानकारीका अनुसार मृत्यु हुनेहरुमा ९ वर्षीय रायन, ३८ वर्षीय युवाराज कंडेल, ३९ वर्षीय शेर गुरुङ, ४० वर्षीय राम बाबु, नाम नखुलेका अन्दाजी २० वर्षीया महिला, ३० वर्षीया अनिता निम्ला र ४० वर्षीया विनिला तामाङ रहेका छन्।
घटनामा १८ जना घाइते भएका छन्। घाइते ७ जनाको अवस्था नाजुक र २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
नेपालीको एक समूहले बर्थ डे पार्टी मनाई रहंदा आगलागी भएको बताइए पनि आगलागीको कारण भने खुल्न सकेको छैन। एक पुरुष झ्यालबाट हाम्फालेर र अन्य तीन जनाले भागेर ज्यान जोगाएका छन्। घाइतेहरु अधिकांश नेपाली छन्।
घाइतेहरुलाई क्यारिटास मेडिकल सेन्टर, क्वीन एलिजाबेथ र प्रिन्स मार्गरेट अस्पतालमा लगिएको छ।
प्रत्यक्षदर्शीका अनुसार आगलागी जिरे खुर्सानी नाम गरेको नेपालीद्वारा संचालित रेष्टुरेण्टमा भएको हो। करीव ८:३५ बजे शुरु भएको आगलागी नियन्त्रण गर्न २ घण्टाभन्दा बढी समय लागेको थियो।
आगो द्रुत रूपमा फैलिदै गएपछि धेरै पटक विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीले बताए। आ-आफ्नो अपार्टमेन्टमा फसेकाहरुले झ्यालबाट बाहिर निस्केर सहयोगको लागि कराइरहेका थिए।
फायरफाइटर र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन्।
हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेकी छन्। लामले सम्बन्धित विभागहरुलाई बचेकाहरूलाई मद्दत गर्न र आगलागीको कारण पत्ता लगाउन निर्देशन दिएकी छन्।
हङकङमा यसलाई दशककै सबैभन्दा घातक आगलागीको घटना मानिएको छ। सन् २०११ मा पनि मङ कोकको फा यून स्ट्रिटमा आगलागी हुँदा ९ जनाको मृत्यु र ३४ जना घाइते भएका थिए। यो १५ बर्षमा शहरको सबैभन्दा खतरनाक आगलागी थियो।
file photo