राजनीति
गएको वैशाख २२ मा नख्खु कारागारमा भएको एक कैदीको मृत्यको रहस्य बाहिर आएको छ । कैदी भक्तबहादुर सुनारको स्वभाविक मृत्यु नभएर उनको हत्या भएको प्रहरीले पत्ता लगाएको हो ।
गत वैशाख २२ गते नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका बर्दियाका भक्तबहादुर सुनारको रहस्यमय मृत्यु भएको थियो ।
कर्तब्य ज्यान र जबरजस्ती करणी मुद्दामा २० वर्षे कैद सजाय भुक्तान गरिरहेका बर्दिया ठाकुरद्वार–५ का ३२ वर्षीय सुनारको मृत्यु अस्वभाविक देखिएको थियो ।
गएको वैशाख १९ गते ज्वरो आउने तथा वान्ता हुने भएपछि वीर अस्पतालमा उपचारका लागि सुनारलाई लगिएको थियो । पछि एक्कासी ब्लडप्रेसर कम हुने भएपछि सुनारलाई आइसीयुमा राख्नुपर्ने भन्दै पाटन अस्पताल पुराइएको थियो । तर पाटन अस्पतालमा उपचारका क्रममा सुनारको वैशाख २२ गते मृत्यु भएको थियो ।
सुनारको मृत्युको कारण त्यतिबेला खुलेको थिएन । तर सुनारले कारागार सुधारको विषय उठाएर गृहमन्त्रीलाई सम्बोधन गरी पत्र लेखिएको पाइएपछि घटना रहस्यमय भन्दै छानबिन सुरु भएको थियो । प्रारम्भिक छानबिन कारगार व्यवस्थापन विभाग आफैंले गरेपनि पछि यो छानबिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीलाई) दिइएको थियो । त्यसपछि सिआइबीले आफ्नो अनुसन्धान सुरु गरेको थियो ।
विष बनाएर त्यसको एक्सपेरिमेन्ट !
खासमा भक्तबहादुर सुनारको मृत्यु स्वभाविक मृत्यु नभएर ‘प्लान्ड मर्डर’ भएको प्रहरीको निश्कर्ष छ । यसअघि पनि ३ जनाको हत्यामा संलग्न भई नख्खुमै जेल सजाय काटिरहेका अभिषेक सिंहको योजनामा सुनारको हत्या भएको हो ।
सुनारको हत्या गरी आन्तरिक प्रशासन र चौकीदारलाई दोषी देखाउने र आफ्नो वर्चश्व कायम राखी चौकीदारको पद हत्याउने योजनामा उक्त हत्याकाण्ड रचिएको सिआइबीले दाबी गरेको छ ।
त्यस कार्यका लागि अभिषेक सिंहले बनस्पतिजन्य पदार्थबाट जेलभित्रै विष बनाएका थिए । तर त्यो विषले काम गर्छ कि गर्दैन भनेर थाहा पाउनका लागि पनि सिंहलाई त्यसको एक्सपेरिमेन्ट गर्नुपर्ने भएकाले सुनारमाथि एक्सपेरिमेण्ट गरिएको प्रहरीको निस्कर्ष छ । सिंहको एक्सपेरिमेन्ट सफल हुँदा सुनारको मृत्यु भएको सिआइबीले दाबी गरेको छ ।
सिरियल किलरका नामले वद्नाम अभिषेक सिंहले यसअघि पनि ३ जनाको हत्या गरिसकेका थिए । सिंहले योभन्दा पहिले भक्तपुर, सुर्खेत र जनकपुरमा गरी तीन जनाको हत्या गरेका थिए । हत्यामा उनले यस्तै विषको प्रयोग गरेको प्रहरीले बताएको छ ।

मृतक
सिंहलाई भक्तपुर जिल्ला अदालतबाट ३५ वर्ष तथा सुर्खेत र नेपालगन्ज जिल्ला अदालतबाट २०–२० वर्षको जेल सजाय सुनाएको थियो ।
सुनार हत्याकाण्डमा सिंहलाई बैंकिङ कसुरमा सजाय काटिरहेका मनोजकुमार चौरसिया तथा जेल सजाय काटि रिहा भएका ध्रुवकुमार शर्माले सहयोग गरेका थिए । सिंहलाई विष बनाउन आवश्यक पर्ने वनस्पति यसअघि चोरी मुद्दामा ४५ दिनको जेल सजाय काटि रिहा भएका ध्रुवकुमार शर्माले उपलब्ध गराएका थिए । उक्त वनस्पतिलाई खानामा मिलाई खुवाउने कार्यमा मनोजकुमार चौरसियाले साथ दिएको प्रहरीले बताएको छ ।

अभियुक्त सिंह आयुर्वेदिक जानेका व्यक्ति
सिआइबीका अनुसार अभियुक्त अभिषेक राज सिंह भारत तथा रुसमा आयुर्वेदिकसम्बन्धि ज्ञान लिएका व्यक्ति हुन् । उनलाई कुन वनस्पति औषधि हुन्छ र कुन वनस्पतिले विषको काम गर्छ जानकारी रहेको छ ।
त्यही ज्ञानको दुरुपयोग गर्दै उनले विष बनाएर त्यसको एक्सपेरिमेन्ट गरेको प्रहरीको निष्कर्ष छ । यस्तो विषको प्रयोग सामान्य पोष्टमार्टम रिपोर्टमा नदेखिने प्रहरीले बताएको छ ।
रातोपाटीबाट