राजनीति
सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्ला नेपालकै पहिलो साक्षर जिल्ला हो। अहिले पनि जिल्ला शिक्षा विकास समन्वय समितिले विद्यार्थीलाई विद्यालयमा भर्ना गराउन कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। तर, भोटेकोसी गाउँपालिका–२ तातोपानीस्थित राङबुसा वस्तीका बालबालिका उमेर पुगेको लामो समयसम्म पनि पढ्न पाउँदैनन्।
नजिक विद्यालय नभएकाले विद्यालय जाने उमेरमा पनि उनीहरु विद्यालयबाहिरै बस्न बाध्य छन्। भौगोलिक विकटताका कारणले यहाँका बालबालिकाहरु विद्यालय जानबाट बञ्चित भएका हुन्। विद्यालय पुग्न करिब तीन घण्टा पैदल हिँड्नु पर्दछ। पैदल जाँदा पनि बालबालिकाले ज्यानको बाजी लगाउनुपर्ने अवस्था छ। वर्षायाममा खोला तथा पहिरो छल्दै दैनिक ६ घण्टा हिँड्नु पर्दछ। राङबुसाबाट बालबालिका तातोपानीस्थित चौकीडाँडाको कोदारी माध्यमिक विद्यालय जाने गरेका छन्।
‘विद्यालय जान सानैदेखि धेरै मन हुन्थ्यो, मन भएर मात्रै के गर्ने नजिकै विद्यालय छैन,’ १८ वर्षीया सञ्चलक्ष्मी थामीले भनिन्, ‘सानैमा विद्यालय जान सकिएन, भर्खर कक्षा ९ मा पुगेकी छु ।’ विद्यालय टाढा र आउन जानकै समस्याले यस क्षेत्रका बालबालिकाको शिक्षामा नराम्रो प्रभाव पारेको उनको गुनासो छ। विद्यालयसम्म पुग्न खोला, पहिरो पर्ने भएकाले अभिभावकले सानो उमेरमा विद्यालय नपठाउने गरेका छन्। विद्यालयसम्म पुग्न लिपिङ, राङबुसा, खर्कलगायतका आधा दर्जन खोलाखोल्सी गर्नुपर्ने अभिभावक ज्ञानबहादुर थामी बताउँछन्। राङबुसाबाट विद्यालय जाने ३० जनाभन्दा धेरै बालबालिका रहेका छन्। आर्थिक अवस्था कमजोर रहेका यस क्षेत्रका वासिन्दालाई खेतीपातीाबाट उब्जनी भएको अन्नले करिब सात महिनामात्र खान पुग्छ ।