राजनीति
काठमाडौं– बालिका बलात्कारमा संलग्नलाई कारबाहीको माग गर्दै शुरु गरिएको आन्दोलनका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर झन तनावग्रस्त बनेको छ ।
बालिकाका बलात्कारीलाई कारबाही हुनुपर्ने मागसहित आन्दोलनमा रहेका प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।
आन्दोलनकारी जिल्ला प्रहरी कार्यालयको प्रवेशद्वारमा पुग्न खोजेपछि प्रहरीले प्रहरीले १ दर्जनभन्दा बढी पटक फायर गरेको छ ।
बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलन चर्कंदै गएपछि स्थानीय प्रशासनले कफ्र्यु लगाउने तयारी गरेको छ ।
उग्र आन्दोलन नियन्त्रणमा लिन भन्दै प्रहरीले बिहीवार गोली चलाउँदा १० जना आन्दोलनकारी घाइते भएका छन् । प्रहरीले गोली चलाएपछि आन्दोलनकारी थप उग्र हुँदै गइरहेकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कफ्र्यु लगाउने तयारी गरिरहेको छ ।
प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जिल्ला सुरक्षा समितिको बैंठक बसिरहेको र कफ्र्यु लगाउने विषयमा छलफल भइरहेको बताए । बलात्कार घटनामा प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेर वास्तविक अभियुक्त बचाउन खोजेको भन्दै स्थानीय वासिन्दा आक्रोशित भएका छन् ।