राजनीति
नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।
एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।
नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् । तर यता अभिनेता पल शाह भने अदालतकाे पैसलाप्रति असन्तुष्टि जनाउँदै उच्च अदालत पाेखरा जाने भएका छन् ।
जिल्ला अदालत नवलपरासीले अढाइ वर्षको जेल सजाय सुनाएपछि अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् । अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको हो ।
जिल्ला अदालतले आज पल शाहले बाल यौन दुरुपयोग गरेको ठहर गर्दै उनलाई अढाइ वर्षको जेल सजायका साथै १० लाख रुपैयाँ क्षतिपूर्ति र २५ हजार जरीवानाको फैसला सुनाएको छ । उक्त फैसलामा आफूहरु सन्तुष्ट नरहेको पल शाहका वकिल कमलामोहन वाग्लेले बताए ।
‘कुनै पनि मिसिल-प्रमाणले कसुर प्रमाणित हुँदैन, त्यसैले यो फैसला नितान्त गलत छ,’ वाग्लेले भने, ‘हामी उच्चमा जान्छौं ।’
अदालतले बलात्कार नभएको ठहर गरेकोलाई सकारात्मक रुपमा लिन सकिँदैन भन्ने प्रश्नमा वाग्लेले भने, ‘विलकुल सकिँदैन । बाल यौन दुरुपयोग भने पनि त्यो कसुरदार नै हो । जबकि उ कसुरदार होइन भनिरहेका छौं । अब उच्च अदालतबाट न्याय पाउने आशा छ ।’