logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मेयर सापको इँटा उद्योगमा गाँजाको व्यापार


  • राजनीति
  • बिहिबार, कार्तिक २९ २०७५

विराटनगर – मोरङको रंगेली नगरपालिकाका प्रमुख (मेयर) दिलिप बगडियाले सञ्चालनमा ल्याएको आनन्द इँटा उद्योगमा गाँजा फेला परेको छ ।

इँटा उद्योगमा प्रहरीले छापा मार्ने क्रममा अवैध गाँजाको कारोबार तथा बिक्रीबितरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेपछि घटना बाहिर आएको हो । उद्योगभित्र गाँजाको बिक्रीवितरणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

भट्टाका मजदुर भारतको बंगाल कुचबिहारका ३० वर्षीय हेमन्त बर्मनले उद्योगभित्रै गाँजाको कारोबार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उद्योगभित्र क्यान्टिन चलाउँदै आएका उनले बाहिरबाट गाँजा खरिद गरेर ल्याउने र त्यहाँभित्र रहेका कामदारलाई बिक्री गर्ने गरेको पाइएको छ ।

इँटा उद्योगभित्र गाँजाको कारोबार हुने गरेको सुराकीको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले छापा मार्ने क्रममा लागूऔषध गाँजा साढे २ किलोग्राम बरामद भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए । पक्राउ परेका भारतीय नागरिकलाई लागूऔषध कारोबार अन्तर्गत म्याद थप भएको छ ।

मेयर बगडीयाले गाँजाको कारोबारी भनेर पक्राउ परेका बर्मन नयाँ सिजनका लागि काम गर्न केही दिनअघि मात्र आएको बताए । यसरी कारोबार गर्ने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार