राजनीति
गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफूमाथि उठेका प्रश्न र लागेका आरोपको संसदबाट प्रष्ट पार्न पाउनुपर्ने माग गरेका छन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग राखेर सदन अवरुद्ध पारिरहेको सन्दर्भमा आज सभामुखलाई पत्र लेखेर लामिछानेले त्यस्तो माग राखेका हुन् । उनले आज सभामुख देवराज घिमिरेलाई लेखेको पत्रमा संसदमा बोल्न अनुमति मागिएको छ ।
संसदमा उत्पन्न गतिरोधका कारण आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५ को उपनियम २ को व्यवस्था उल्लंघन भएकोप्रति पनि लामिछानेले सभामुखको ध्यानाकर्षण गराएका छन् ।
जनताको जिम्मेवार प्रतिनिधि एवम् गृहमन्त्री भएको नाताले सांसदहरुले उठाएका विषयबारे आम नागरिकलाई जानकारी गराउनु आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी हुने उनको भनाई छ । त्यसैकारण यहि २८ गतेबाट शुरु हुने वर्षे अधिवेशनको यथाशक्य प्रारम्भिक दिनमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिने व्यवस्था मिलाईदिन उनले भनेका छन् ।