राजनीति
काठमाडौं – घुस लिँदालिँदै कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरका एक कर्मचारी पक्राउ परेका छन् ।
कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेय र कार्यालयमा बिचौलियाको काम गर्ने सरिता कार्कीलाई ७ हजार रुपैयाँ घुसबापतको रकम लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले कार्यालयका कार्यकक्षबाटै समातेको हो ।
पक्राउ परेका दुवैलाई अख्तियारले अनुसन्धान गरिरहेको जनाएको छ । कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर आत्रेयले सेवाग्राहीको कम्पनीमा कायम रहन आएका सेयरधनीहरुको सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार कार्यालय टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
जनशक्ति अभावले (नास्ट) मा सञ्चालित कार्यक्रम प्रभावित
ललितपुर – जनशक्ति अभावले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा सञ्चालित कार्यक्रम प्रभावित भएका छन् । नेपालमा विज्ञान र प्रविधिका विविध क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने उक्त संस्थामा लामो समयदेखि नियुक्ति प्रक्रिया अबरुद्ध हुँदा कर्मचारीको अभाव भोग्नुपरेको हो ।
नास्टले केही वर्ष पहिलेदेखि शुरु गरेको भूकम्पीय सूचना प्रणाली कार्यक्रमका साथै सञ्चालन भइरहेका अरु कार्यक्रमका लागि पनि जनशक्तिको अभाव भइरहेको प्रविधि सङ्कायका प्रमुख इञ्जिनियर डा प्रसाद ढकालले बताए ।
नास्ट आफैँले सेवा आयोगमार्फत कर्मचारी नियुक्ति गर्न नमिल्ने भएकाले पनि यहाँ कर्मचारीको अभाव भएको हो । लोकसेवा आयोगको प्रक्रिया बमोजिम कर्मचारी नियुक्ति गर्दा समय लाग्ने भएकाले पहिले नास्ट आफैँले करारमा कर्मचारी नियुक्ति गर्दै आएको थियो । प्रविधि सङ्कायमा अहिले झण्डै २५ कार्यरत छन् ।
बीस जनासम्म कर्मचारी थप भए काम गर्न सहज हुने उल्लेख गर्दै उनले एक त देशभरमा नै प्राविधिक जनशक्ति पर्याप्त नहुनु र भएका पनि अध्ययनका लागि विदेश जाँदा यहाँ जनशक्ति अभाव रहेको प्रमुख ढकालले बताए ।