राजनीति
मुलुक काे जेठाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा सञ्चालित सबै संकाय र अध्ययन संस्थानका कार्यक्रमको मूल्यांकन लेटर ग्रेडिङमा गर्ने तयारी भएको छ । सबै कार्यक्रममा एकरुपता ल्याउन तथा ग्रेडिङको अवधारणा बुझाउन त्रिविले देशका विभिन्न स्थानमा तालिम तथा छलफल गरिरहेको छ ।
अहिले सेमेस्टर प्रणालीमा सञ्चालित कार्यक्रमको लेटर ग्रेडिङमा मूल्यांकन भइरहेको छ । त्रिविले इन्जिनियरिङ, मेडिकल, एग्रिकल्चर अध्ययन संस्थानलाई मूल्यांनको आधार तय गर्न अधिकार दिएको छ । त्रिविले मानविकी, कानुन, शिक्षा, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका कार्यक्रममा एकरूपता ल्याउने तयारी गरेको छ । यी संकाय तथा अध्ययन सञ्चालनअन्तर्गतका स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीमा कार्यक्रम सञ्चालित छन् । कतिपयले स्नातक तहका कार्यक्रम पनि सेमेस्टर प्रणाली सञ्चालन गरी लेटर ग्रेडिङमा मूल्यांकन गरेका छन् । त्रिविका उपकुलपति खनियाँले स्नातक तहका नयाँ कार्यक्रम सेमेस्टर प्रणालीमा सञ्चालन गरी ग्रेडिङमै मूल्यांकन गर्ने व्यवस्था गरेको बताइएको छ।
हाल त्रिविमा वार्षिकभन्दा सेमेस्टर प्रणालीका कार्यक्रमको नतिजा राम्रो भएको छ। शिक्षाशास्त्र संकायमा पहिलो र दोस्रो सेमेस्टरको नतिजा ४५ प्रतिशतको हाराहारी मात्र छ । तेस्रो सेमेस्टरमा पुगेपछि विद्यार्थी संख्या घट्ने भएकाले उत्तीर्ण प्रतिशत ७५ भन्दा माथि छ ।सेमेस्टर प्रणाली लागू भएपछि मानविकीमा ८० देखि ९० प्रतिशत उत्तीर्ण भएका छन् । व्यवस्थापन संकायको स्नातकोत्तरमा पनि औसत उत्तीर्ण प्रतिशत ७५ छ । मेडिकल, इन्जिनियरिङ, एग्रिकल्चरजस्ता प्राविधिक विषयमा तुलनात्मक रूपमा नतिजा पहिलेदेखि नै राम्रो रहेेको छ ।
त्रिविमा पछिल्ला वर्षहरूमा बिएभन्दा पनि बिएस्सीको नतिजा कमजोर पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७४ मा बिएस्सी अध्ययन गर्ने विद्यार्थी ४०.५८ प्रतिशत उत्तीर्ण भएका छन् । सोही वर्ष बिएमा ४४.५५ प्रतिशत उत्तीर्ण भएका छन् । ०७३ मा पनि औसतमा स्नातक तहमा विज्ञानभन्दा मानविकी तथा सामाजिकशास्त्र संकायका विद्यार्थीको नतिजा राम्रो रहेकाे बताइएको छ ।