logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रद्व भएको एसईई परीक्षा चैत्र महिना मै हुने


  • राजनीति
  • आइतबार, चैत्र १७ २०७५

प्रश्नपत्र आउट भएपछि रद्व गरिएको प्रदेश नं २ काे परीक चैत्र महिनाभित्रै सन्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले चैतभित्रै सम्पन्न गर्ने गरी प्रदेश २ को एसईई परीक्षाको तयारी अघि बढाएको छ । प्रदेश २ मा स्थगित र रद्द भएका परीक्षा चैत महिनाभित्रै हुने बोर्डले जानकारी दिएको छ ।

बोर्डले परीक्षा सञ्चालनका लागि समय तालिका (रुटिन) निर्माणको गृहकार्य गरिरहेको छ। ‘आइतबारसम्म परीक्षा तालिका सार्वजनिक गरिसक्छौँ,’ उनले भने, ‘चैतभित्रै परीक्षा सकेर उत्तरपुस्तिका परीक्षण थाल्छौँ।’ परीक्षा केही दिन अघिपछि भएपनि सात वटै प्रदेशको नतिजा एकैदिन प्रकाशित गर्ने बोर्डले जनाएको हो।

चैत १० गतेबाट सुरु भएको एसईई देशभर चैत २१ गते सकिने समय तालिका थियो। प्रदेश नम्बर २ मा चैत १४ गतेको विज्ञान विषयको प्रश्नपत्र परीक्षाभन्दा पहिल्यै बाहिरिएपछि रद्द गरिएको छ। उक्त विषयको परीक्षाको मिति चैत २२ गते लाई तोकिएको छ।
साविककै परीक्षा केन्द्र र समयमा उक्त परीक्षा सञ्चालन हुनेछ। त्यसका लागि प्रश्नपत्र छपाइको काम सुरु गरिएको हो। चैत १५ गतेको सामाजिक विषयको प्रश्पत्रपनि परीक्षा अगावै आउट भएका कारण स्थगित गरिएको छ। त्यसपछिका सबै विषयका परीक्षा पनि स्थगित गरिएको हो। स्थगित भएका परीक्षा २३ गतेबाट निरन्तर सञ्चालन गर्ने गरी रुटिन बन्ने सम्भावना रहेको बोर्ड स्रोतले जनायो।
आइतबार अन्य ६ प्रदेशमा ऐच्छिक प्रथम विषयको परीक्षा सञ्चालन हुँदैछ। ती प्रदेशमा आइतबारको परीक्षा सकिए लगत्तै प्रदेश २ का लागि रुटिन सार्वजनिक गर्ने तयारी गरेको स्रोतले बतायो ।
आइतबारको परीक्षा हेरेर के कसरी अघि बढ्ने भन्ने सरसल्लाह भएको छ,’ बोर्डका एक सदस्यले कान्तिपुरसँग भने। लगातार दुई विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले र बोर्डले परीक्षाको मिति तोक्न हतार नगरेको हो।

‘आइतबार हुने परीक्षामा कुनै कैफियत नदेखिए, त्यसपछि प्रदेश २ को स्थगित परीक्षाको विषयमा निर्णय लिने योजना छ,’ मन्त्रालयका एक अधिकारीले भने। ऐच्छिक विषयको प्रश्न आउट भए त्यसको प्रभाव एउटा प्रदेशमा मात्र समिति हुँदैन। एउटै प्रश्नपत्र देशभरकै परीक्षामा असर पुग्छ। सोही कारण ‘पर्ख र हेर’ को नीति अपनाइएको हो।
यसवर्ष ७ वटै प्रदेशका लागि अनिवार्य ६ विषयका छुट्टाछुट्टै र ऐच्छिक विषयहरूका प्रश्नपत्र एउटै बनाइएको छ। बोर्डको बैठक बसेर रद्द र स्थगित भएका परीक्षा कसरी सञ्चालन गर्ने भन्ने तयारी गरिएको सदस्य सचिव अर्यालले बताए। ‘नयाँ प्रश्नपत्र छपाइ, ढुवानी र परीक्षा सञ्चालनमा विषयमा रणनीति बनाइराखेका छौँ,’ उनले भने। ऐच्छिक विषयका विद्यार्थीहरूको सङ्ख्या रुजु गरेर प्रश्नपत्र छपाइ लगायत परीक्षा पूर्व तयारीको आन्तरिक काम भइरहेको हो।

प्रदेश २ मा परीक्षा स्थगित हुँदा ७० हजार ५ सय ६८ विद्यार्थी प्रभावित भएका छन्। उनीहरूले २ सय ६२ केन्द्रबाट परीक्षा दिइराखेका थिए। उक्त प्रदेशको ८ वटै जिल्लामा परीक्षा सम्पन्न भइसकेका अङ्ग्रेजी, नेपाली र गणित विषयका उत्तरपुस्तिका र परीक्षा हुन बाँकी विषयका प्रश्नपत्रको सुरक्षाका लागि उच्च सर्तकर्ता अपनाइएको छ।

नजिकको प्रहरी कार्यालयमा राखेका उत्तरपुस्तिका र प्रश्न पत्रहरू सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा ल्याउन बोर्डले आग्रह गरेको हो। जिल्ला परीक्षा समन्वय समितिको बैठक बसेर उत्तरपुस्तिका र प्रश्नपत्र सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय ल्याउने बाराका प्रजिअ राजेश पौडेलले जनाए।
उत्तरपुस्तिका र प्रश्नप्रश्न राखिएको प्रहरी चौकीको निरीक्षण र रुजु गरिसकिएको ती जिल्लाका सुरक्षा अधिकारीले बताएका छन्।
मुलुकभरकै एक हजार ९ सय ६९ वटा परीक्षाकेन्द्र नजिकको प्रहरी चौकीमा राखिएको प्रश्नपत्र रुजु गर्न केन्द्रीय परीक्षा समन्वय समितिले निर्देशन दिएको थियो। देशभर ४ लाख ७५ हजार विद्यार्थी परीक्षामा सम्मिलित छन्। परीक्षाका लागि ७२ हजार जनशक्ति परिचालन गरिएको छ।
परीक्षामा यस्तो स्तरमा प्रश्नपत्र बाहिरिएको इतिहासमै पहिलो पटक हो। यसअघि छपाइका क्रममा, प्रहरी कार्यालयबाट परीक्षा केन्द्रमा प्रश्नपत्र लैजाने र केन्द्रबाटै पनि प्रश्नपत्र बाहिरिएको रेकर्ड छ। यस पटक सामाजिक सञ्जालका माध्यमबाट प्रश्नपत्र परीक्षाको अघिल्लो दिनमै भाइरल हुन पुगेको थियोे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार