राजनीति
काठमाडौं – काठमाडौंको मध्य बानेश्वरमा नेपाल विद्यार्थी संघले गरेको विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ ।
नेविसंघले पोखरा विश्वविद्यालय अन्तरगतका कलेजहरुको लापरवाहीका कारण परीक्षा दिनबाट बञ्चित ३ सय बढी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नदिन थालेको आन्दोलनमा प्रहरीले धरपकड गरेको हो ।
मध्य बानेश्वरको एपेक्स कलेज अगाडीबाट प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरु नवराज त्रिपाठीसहित ११ जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा मनिष सिंखडा, सुजन कडेल लगायत छन् । नेविसंघका विद्यार्थीले एपेक्स ,टाईम्स, राजधानी लगायतका कलेजमा माफिया पेन्टिङ गरेका थिए ।
पोखरा विश्वविद्यालयको तीन सय ९१ विद्यार्थीको भविष्य अन्योलमा
पोखरा विश्वविद्यालयको अस्पष्ट भर्ना सूचनाका कारण स्नातक तह व्यवस्थापन संकाय पहिलो सेमेस्टरका तीन सय ९१ विद्यार्थीको भविष्य अन्योलमा परेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।समाचारकाे अनुसार उनीहरूले परीक्षा दिने विषयमा भएको विवादले करिब २० हजार विद्यार्थीको परीक्षा स्थगित भएको छ ।
कक्षा ११ र १२ मा न्यूनतम ग्रेड पोइन्ट एभरेज (जिपिए) २।० भन्दा माथि ल्याएर सम्बन्धनप्राप्त क्याम्पसमा व्यवस्थापनका विभिन्न कार्यक्रम अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षामा सहभागी गराउन नमानेपछि कलेजहरूले परीक्षा सञ्चालन गर्न मानेनन् । विश्वविद्यालयले न्युनतम् सी ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना गर्न गत १० साउनमा सूचना गरेको थियो । सी ग्रेड भनेको २।० भन्दा माथि रहेको राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको ट्रान्सक्रिप्टमा उल्लेख छ । यही मापदण्डका आधारमा कलेजहरूले गत साउनमा विद्यार्थी भर्ना गरेका थिए ।