राजनीति
त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्ने भएको छ ।त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत भर्ने व्यवस्था थालेको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
यसरी विद्यार्थीले अनलाइनमार्फत् भरेका परीक्षा फारामको प्रवेश पत्र आफैले नै प्रिन्ट गरेर लिन पाउने उहाँले बताउनुभयो । उनीहरु आफैले प्रिन्ट गरेको प्रवेशपत्र लिई परीक्षामा सहभागी हुन पाउने छन् । यसैगरि त्रिविले अबदेखि फोटोसहितको रजिष्ट्रेशन स्लिप लागु गर्ने भएको छ ।परीक्षा नियन्त्रक जोशीले अब नयाँ रजिष्ट्रेशन स्लिप लिने विद्यार्थीले फोटोसहितको हुने बताए । उनले अबदेखि परीक्षामा अनलाइनमार्फत भरेको फारामको प्रवेशपत्रसँगै फोटोसहितको रजिष्ट्रेशन स्लिप लिएर जानुपर्ने बताए ।
मार्कसिट आफैले प्रिन्ट गर्न पाउने
यसैगरी पनिकाले विद्यार्थीको लब्धाङ्क पत्र (मार्कसिट) को क्याम्पस आफैले प्रिन्ट गरेर दिन सक्ने व्यवस्था गर्न थालेको छ ।
नयाँ वर्षदेखि लागु हुने गरि स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई क्याम्पसले आफैले प्रिन्ट गरेर मार्कसिट दिने व्यवस्था गर्न थालेको परीक्षा नियन्त्रक जोशीले बताए ।
ट्रान्सक्रिप्टमा स्टार चिह्न नहुने
यसैगरी त्रिविले अबदेखि ट्रान्सक्रिप्टमा अनुत्तिर्ण भएको विषयमा तारा (स्टार) चिह्न नराख्ने भएको छ ।
त्रिवि प्राज्ञिक परिषदले अनुत्तिर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने भएका छन् । ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउन थालेको जोशीले बताए ।