राजनीति
उच्च माध्यमिक शिक्षा तह कक्षा १२ को परिक्षा बैशाख १५ गते देखी सुरु हुदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०७६ सालको परिक्षा यहिँ आउँदो आइतबार बिहान ७ बजेदेखि हुने जानकारी दिएको छ ।
आज शुक्रबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा बैशाख १५ गतेबाट सुरु भएर २६ गते समाप्त हुनेछ ।
त्यसैगरि कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा बैशाख २९ गतेबाट सुरु भएर जेठ ८ गते समाप्त हुने बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणी पौडेलले जानकारी दिएका छन् ।
परिक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका कक्षा १२ मा ४ लाख २८ हजार ५२ जना परिक्षार्थी सहभागी हुने छन् । कक्षा ११ मा ५ लाख ८ हजार ४ सय ९४ जना परिक्षार्थी गरि जम्मा ९ लाख ३६ हजार ५ सय ६ (जसमध्ये छात्र ४ लाख ४२ हजार, ९ सय ९७ र छात्रा ४लाख, ९३ हजार ५ सय ४९) परीक्षार्थीहरु सहभागि हुने अध्यक्ष प्रा. डा. पौडेलले बताए ।
परीक्षार्थी संख्याअनुसार सबैभन्दा कम मनाङ्ग जिल्लाबाट कक्षा ११ को परिक्षामा ५१ जना र कक्षा १२ मा ५९ जना सहभागी हुनेछन् ।
सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५ सय २७ र कक्षा १२ मा ६२ हजार ५ सय ८८ परीक्षार्थी सहभागी हुनेछन् ।
नेपालभर कुल १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा १ सय २२ वटा र सबैभन्दा कम मनाङ÷मुस्ताङ जिल्लामा १÷१ केन्द्र निर्धारण गरिएको समेत बोर्डले जानकारी दिएको छ ।
कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीहरुलाई परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डको भनाई रहेको छ ।