logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने


  • राजनीति
  • मंगलबार, साउन २१ २०७६

पोखरा- कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम आगामी शैक्षिक सत्रदेखि परिमार्जन हुने भएको छ ।पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले समय परिस्थितिअनुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको जानकारी दिए । प्रत्येक पाँचपाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियम रहेको छ।

अब कक्षा ११ र १२ मा भने नयाँ पाठ्यक्रम अनुसार थप दुई विषय पढ्नु पर्ने हुन्छ । उनका अनुसार जीवन उपयोगी सीप र सामाजिक अध्ययन ५०–५० पूर्णाङ्कको पढ्नु पर्ने हुन्छ ।

जीवन उपयोगी सीपले विद्यार्थीलाई व्यवसाय गर्नका लागि सिकाउँछ भने सामाजिक अध्ययनले नेपालको बारेमा विद्यार्थीलाई बुझ्न सहयोग मिल्दछ । नयाँ पाठ्यक्रमअनुसार नेपाली ५० र अङ्ग्रेजी भने १०० पूर्णाङ्कको हुनेछ ।

यसअघि विसं २०६४ मा पाठ्यक्रम परिमार्जन भएको थियो ।

उनका अनुसार ४० वटा विषयका परिमार्जन गरिसकेका छन भने ३७ वटा विषयको परिमार्जनको क्रममा रहेका छन् ।

कक्षा ११ र १२ मा १५६ वटा विषय रहेका छन् । यसअघि कक्षा ११ र १२ को विषयको परिमार्जन उच्च माध्यमिक शिक्षा परिषद्ले परिमार्जन गरेपनि कक्षा १२ सम्म माध्यमिक तह मानेकाले केन्द्रले पहिलो पटक पाठ्यक्रम परिमार्जन गरेको हो । कक्षा ९ र १० को भने केन्द्रले ऐच्छिक विषयको मात्र पाठ्यक्रम परिमार्जन गर्न थालेको हो ।

स्थानीय तहले स्थानीय परिवेशअनुसार एक वटा विषय अतिरिक्त पढाउन सक्नेछन् । स्थानीय तहले तयार पारेको पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग स्वीकृत गराउनुपर्ने हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार