राजनीति
पोखरा- मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालयले तीनवर्षेबाट चारवर्षे बनाएको छ। त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले चारवर्षे बनाउने निर्णय गरेको हो।
ब्याचलर इन आर्ट्स (बीए)मा ३१ विषय अध्यापन गरिँदै आएको छ। त्रिविमा स्नातक तहमा अन्य सबै सङ्कायका कार्यक्रम चारवर्षे भइसकेका थिए। त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्राडा शिवलाल भुसालले अन्तर्राष्ट्रिय स्तरमा समयसापेक्ष बनाउन चारवर्षे पाठ्यक्रम बनाइएको बताए।
उनका अनुसार अब बीएमा दुई हजार पूर्णाङ्क हुने छ। यसअघि एक हजार पाँच सय पूर्णाङ्क थियो। डिन डा भुसालले ७० प्रतिशत बाह्य र ३० प्रतिशत आन्तरिक मूल्याङ्कन हुने जानकारी दिँदै भने, “आन्तरिक मूल्याङ्कन पनि आवश्यक पर्ने भएकाले अब परीक्षाका मुखमा भर्ना हुने प्रवृत्ति अन्त्य हुने छ।”