logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी


  • रासस
  • आइतबार, भाद्र १ २०७६

काठमाडौं महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराए।

महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उनले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन एकै किसिमको रङ प्रयोग गर्ने बताए।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालयको शैक्षिक गुणस्तर मात्र होइन भौतिक संरचनामा पनि सकेसम्म एकरूपता ल्याउने प्रयासमा लागेका छौं’, उनले भने, ‘त्यसका लागि महानगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय भवनमा एकै खालको रङरोगन गर्ने तयारी थालेका छौं।’

महानगरमा ९१ वटा सामुदायिक विद्यालय रहेका छन्।

उनले त्यसको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्नका लागि करिब रु १० करोड रकम विनियोजन गरिएकोसमेत जानकारी दिए। उनका अनुसार विद्यालयको रङरोगन गर्ने, खेल मैदान निर्माण गर्ने, वृक्षरोपण गर्ने, शौचालय र खानेपानीको व्यवस्था गर्नेलगायतका शीर्षकका लागि रु १० करोड रकम छुट्याइएको छ।

प्रमुख शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर विद्यार्थीलाई सामुदायिकतिर आकर्षित गर्नसके निजीमा पढ्न जानेको सङ्ख्या स्वतः घटेर जाने बताए।

उनले अहिलेको पुस्ता सूचना, प्रविधि, योजना र नयाँनयाँ ज्ञानमा निपुण भएको भन्दै पुरानाको अनुभवसँग सहकार्य गरेर अघि बढ्ने हो भने सामुदायिक विद्यालयको गुणस्तर स्वतः वृद्धि भएर जाने बताए।

महानगरका निमित्त नगर शिक्षा अधिकारी तारापति खरेलले शिक्षकलाई शिक्षाको गुणस्तर सुधार ध्यान दिनुपर्ने बताए। शिक्षा विभागका अधिकृत मोती भट्टराईले पदस्थापन भएका शिक्षकलाई महानगरभित्रको समग्र शैक्षिक गुणस्तरलाई उकास्न र उच्चतम नतिजा प्राप्त गर्ने कुरामा भूमिका खेल्ने बताए। पदस्थापना भएर ३१ माध्यमिक तहका शिक्षक महानगरमा आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार