पोखरा- काठमाडौँस्थित जापानी राजदूतावासको सहयोगमा भौगोलिकरुपमा विकट र दुर्गम गाउँमा अवस्थित म्याग्दीको मालिका गाउँपालिका–२ जेममा रहेको देउराली आधारभूत विद्यालयको सुविधा सम्पन्न भवन निर्माण भएको छ।
विद्यालयका प्रधानाध्यापक पोष्टबहादुर विश्वकर्माले दूतावासको ९१ लाख ६१ हजार सहयोगमा दुई तले आठ कोठे कक्षा कोठा भवन निर्माण भएको बताएका छन। वि।सं। २०७२ को भूकम्पका कारण पुरानो भवन जीर्ण बनेको थियो।
गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनको समन्वयमा दूतावासले सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष उमेश पुनले बताए। राजदूतावासको सहयोगका अलावा स्थानीयवासीले नौ लाख बराबरको श्रमदान गरेका थिए।
दुई जना दरबन्दी, तीन जना राहत र तीन जना निजी स्रोतका शिक्षक छन् । निजी शिक्षकको तलबभत्ताका लागि बेली र जेम गाउँका बासिन्दाले प्रतिघर रु एक हजार चन्दा सहयोग गर्दै आएका छन् । दुई वर्षअघि कच्ची सडक पुगेको जेम गाउँ म्याग्दीको दुर्गम बस्ती मानिन्छ ।
नवनिर्मित भवनको सोमबार जापानी राजदूतावासका प्रतिनिधि यासुकी स्याण्डोले उद्घाटन गरेका थिए। जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवाल, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु र वडाध्यक्ष नरबहादुर पुनले भवनले विद्यालयको पठनपाठनमा सुधार गर्न सहयोग पुग्ने बताए।