राजनीति
बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएकाे काेराेना भाइरसका कारण एसईइ परीक्षा प्रभावित हुने सराेकारवाला बताउछन् । यही चैत ६ गतेबाट सुरु हुन लागेको एसइई परीक्षाको लागि शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा वार्डले सबै तयारी पुरा गरी सकेको जनाएका छन् ।
कोरोनाको सन्त्रासकाबीच निर्धारित समयमा नै एसइई परीक्षा सञ्चालन गराउनेमा शिक्षा मन्त्रालय अडिग छ । परीक्षा बोर्डले पनि देशभर १९ सय ९५ वटा परीक्षा केन्द्र तोकिसकेको छ ।
त्यस्तै एसइईको लागि आवश्यक प्रश्नपत्र तयार गरी सबै केन्द्रमा पठाइसकेको परीक्षा वोर्डले जनाएको छ ।
परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थी सहभागी हुने वोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।
अभिभावकहरु भने चैत ६ मै एसइई परीक्षा हुनपर्छ भन्नेमा सहमत देखिंदैनन् । कोरोनाले विश्वमा महामारीको रुप लिइरहेको बेला चैत ६ मै एसइई परीक्षा सञ्चालन गर्न लागेर शिक्षा मन्त्रालयले विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेको राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाले बताए।
अमेरिका, बेलायत, युरोपजस्ता ठूला देशहरुले संक्रमण फैलने डरले विद्यालय तथा कलेजहरु बन्द गरेको समयमा शिक्षा मन्त्रालयले यस्तो कदम चाल्नु विद्यार्थीको मात्र नभएर आमनागरिकको स्वास्थ्यमा खेलवाड गरेको उनको आरोप छ ।
‘मानिस रहे परिक्षा पछि पनि दिन सकिन्छ । मानिस नै नरहे परीक्षा कसले दिने ?’ उनले प्रश्न गरे । देवकोटा तरीका परिर्वतन गरेर पनि परीक्षा लिन सकिने तर्क गर्छन् । विद्यार्थीलाई सेन्टर नै तोकेर परिक्षा लिनुपर्छ भन्ने नरहेको उनको भनाई छ ।
अनलाइनको माध्यमबाट र विद्यार्थीले विद्यालयमा दिएको त्रैमासिक परीक्षाको आधारलाई मुल्यांकन गरी अंक प्रदान गर्न सकिने उनको भनाइ छ ।
चैत ६ मै परीक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रालयकोे निर्णयले अभिभावकलाई त्रासमा पारेको उनले बताए ।
बालबालिकालाई परीक्षामा सहभागी नगराए पछि पर्ने डर र सहभागी गराए संक्रमति हुन्छन् कि भन्ने त्रासमा अभिभावक रहेको उनले बताए ।
‘विद्यार्थीमा संक्रमण फैलिए त्यसको जिम्मा कसले लिने ?’ उनले प्रश्न गरे ।
संक्रमण फैलिए त्यसको रोकथामको लागि नेपाल सरकारसँग कुनै पुर्वाधार नभएका कारण तत्काल विद्यालय बन्द गरी एसइई परीक्षा सार्नु पर्ने उनको माग छ ।
यसबारे कोरोना भाइरसका विज्ञ डाक्टरहरुसँग सल्लाह गरी तत्काल निर्णय लिनु पर्ने शिक्षाविद् डा.विद्यानाथ कोइराला पनि बताउँछन ।
शिक्षा मन्त्रालयले डाक्टरहरुको सल्लाह बमोजिम विद्यालय बन्द गर्ने कि नगर्ने ? भन्ने निर्णय लिनु पर्ने कोइरालाको सुझाव छ । उनले भने, ‘डाक्टरले बन्द गर्नुपर्छ भने भोलीदेखि नै बन्द गरौँ ।’
त्यस्तै प्रतिनिधि सभा बैठकमा सांसदहरुले नेपाल सरकारसँग कोरोना भाइरस फैलिए त्यसको रोकथामको लागि कुनै व्यबस्था नभएका कारण तत्काल विमानस्थल, विद्यालय, कलेजलगायत धेरै भिडभाड हुने ठाउँहरु बन्द गर्नुपर्ने माग राख्दै आएका छन् ।
विश्वका करिब १ सय २७ देशमा कोरोना भाइरको संक्रमण फैलिसकेको छ भने नेपालमा कति बेला संक्रमण देखिन्छ भन्ने त्रास सर्वसाधारणमा रहेको देखिन्छ ।
कोरोना संक्रमणबाट रोक्न नेपाल सरकार तथा शिक्षा मन्त्रालयले ठुला भेला तथा सभा सम्मेलन नगर्न नगराउन पनि आग्रह गरी सकेका छन् ।
विश्व स्वास्थ्य संगठनले पनि नेपाल भाइरसको उच्चजोखिममा रहेको भन्दै सतर्कता अपनाउन भनिसकेको छ ।
त्यसैले पनि सरकारले यस विषयमा ठोस कदम चाल्नु पर्ने देखिन्छ । तोकिएकै समयमा संचालन गर्ने हो भने परीक्षार्थीले भयमुक्त अवस्थामा परीक्षा दिने वातावरण सरकारले तयार पार्नु पर्ने देखिन्छ ।