logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एसईइ आवस्यक छैन, खारेज गराै : नेता भट्टराई


  • राजनीति
  • शनिबार, बैशाख २७ २०७७

पूर्वप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराईले एसईई लिनु आवश्यक नभएको बताएका छन्। शुक्रबार बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको मारमा परेका बालबालिकालाई परीक्षाले मानसिक तनाव दिएको भन्दै उनले यो परीक्षा आवश्यक नभएको बताएका हुन्।

‘एसईईको परीक्षा लिनु आवश्यक छैन’, भट्टराईले भने, ‘१२ कक्षासम्म माद्यमिक तह भएपछि १० कक्षाको परीक्षा लिनु आवश्यक छैन। आआफ्नो विद्यालयले उचित नम्बर दिएर बालबालिकालाई चिन्तित नबन भने पुग्छ।’ शिक्षामन्त्रीले लकडाउन खुलेको भोलिपल्ट परीक्षा हुन्छ भन्नु अझ गलत भएको भट्टराईको भनाइ छ।

नेता भट्टराईले  प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन्। उनले कुर्सीमा बसेर कोही पनि महान नभएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको प्रष्ट पारे।

‘कुर्सीमा बसेर महान् कोही पनि हुँदैन। नैतिक आत्मा ठूलो हुन्छ। यसका निम्ति मेरो सम्माननीय प्रधानमन्त्रीसँग आग्रह छ। तपाईं जुन उचाईमा रहनु भएको छ त्यही रहनुहोस् र तपाईं अनावश्यक ढंगले विभिन्न गतिविधिमा संलग्न हुँदा तपाईं आफैंमाथि पनि अन्याय भएको छ’, बाबुरामले भने, ‘रोगले जीर्ण भएको शरीरलाई तपाईंले आराम दिनुपर्छ। यो लोकतन्त्र र तपाईंको छविलाई बचाएर अगाडि बढ्न तपाईंले राजनीनामा दिनु नै उपयुक्त हुन्छ।’

बाबुरामले प्रधानमन्त्रीको राजीनामा नै अहिलेको राजनीतिक निकास भएको उल्लेख गरे। उनले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरे। बाबुरामले प्रधानमन्त्रीले राजीनामा दिँदा विकल्पबारे चिन्ता नगर्न आग्रहसमेत गरेका छन्।

‘तपाईंको राजनीनामा नै एउटा उचित निकास हुन्छ। त्यसले नै समाज र देशलाई अगाडि बढाउन पाउँछ। मेरो बिनम्र आग्रह छ’, बाबुरामले भने, ‘प्रश्न उठ्छ उहाँको विकल्प के ? यो मेरो निजी विचार हो। हामी पूर्वप्रधानमन्त्री अब इच्छा र आकांक्षा नराखौँ। राजनीतिक महत्वपूर्ण विषय हो। राजनीतिबाट सन्यास लिएर सुख पाइदैन। तर प्रत्यक्ष कार्यकारी भूमिकामा हामी नरहेर नयाँ पुस्तालाई अगाडि बढायौँ भने देशले निकास पाउँछ।’ सम्बोधनका क्रममा न्युनतम विषयमा राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्नेमा बाबुरामले जोड दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार