नेपाली फिल्मी क्षेत्रका महा नायक राजेश हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताएका छन्।
‘आजको बिन्दुसम्म मैले राजनीतिलाई सेवाकै रुपमा हेरेको छु। राजनीतिमा आइसकेपछि चुनाव नजिते पनि अरु जिम्मेवारी हुन्छन्’ आजको नयाँ पत्रिकामा प्रकाशित अन्तर्वार्तामा हमाल भन्छन्,‘चुनावै जितेपछि त ठूलो जिम्मेबारी वहन गर्नुपर्ने हुन्छ।’
भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए। तपाईंको राजनीतिमा आउने सोच छैन ?
मलाई राजनीतिमा चासो छ। राजनीतिक गतिविधि रुचिपूर्वक हेर्छु। तर, सक्रिय राजनीतिमा लागिहालौँ भन्ने मुड छैन।
अहिले कलाकारितामा छु। दुबै ठाउँमा हात हाल्नु ठिक होइन। चुनाव लडेका कतिपय भारतीय कलाकारले पछि मछुतो महसुस गरेको सबैलाई थाहा छ। तर, म राजनीतिमा आउनै नसक्ने भन्ने छैन।
कहिलेबाट आउनुहुन्छ त ?
कुन कित्तामा उभिएर राजनीति गर्छु भन्ने पक्का छैन। सचेत नागरिकको हिसाबले राजनीतिमा चासो छ।
तपाईंले चाहनुभयो भने त जुनै पार्टीले पनि टिकट देलान् नि ?
मेरो उद्देश्य राजनीतिकको लागि राजनीति गर्ने होइन। त्यस्तो राजनीतिले खासै उपलव्धी दिएँदैन। खाली व्यक्तिगत स्वार्थ मात्र पूरा हुन्छ।
इमानदार भएर राजनीति गरियो भने नीति निर्माण तहमा केही प्रभाव पार्न सकिन्छ।
राजनीतिमा लागेर राष्ट्रलाई अझै केही योगदान दिन सक्छु जस्तो लागेको दिन पक्कै राजेश हमाल राजनीतिमा होमिने छ। जतिखेर पनि राजनीतिमा आउन सक्छु। त्यो दिन पनि आउला नि।
चुनाव जित्नुभयो भने पहिलो काम के गर्नुहुन्छ ?
देशमा अहिले सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो। मैले चुनाव जितेको खण्डमा भ्रष्टाचारलाई निर्मूल पार्न कोसिस गर्छु। भ्रष्टाचाररहित विकासमा जोड दिन्छु।