WUHAN, CHINA - JUNE 27: (CHINA OUT) The Audience watch the 3D film "Transformers - Age Of Extinction" through 3D glasses at a cinema on June 27, 2014 in Wuhan, Hubei Province of China. (Photo by VCG/VCG via Getty Images)
कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरि खुल्न थालेका छन्।
सोमबार चलचित्र हेर्नका लागि धेरैले टिकट काटेको चिनियाँ चलचित्र अधिकारीहरुले जानकारी दिएका छन्। हल सञ्चालन गर्न र टिकट काट्न अधिकारीहरुले अघिल्लो हप्ता सूचना जारी गरेका थिए।
कोरोनाभाइरसको जोखिम कम भएका ठाउँमा हलहरु खोल्न र सञ्चालन गर्दा उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको थियो।
सरकारी अधिकारीहरुको आग्रह अनुसार सिन्च्याङ, साङ्घाई, बेइजिङलगायतका ठाउँमा चलचित्र हलहरु सञ्चालनमा आउन थालेका हुन्।
देशको पूर्वी सहर साङ्घाईमा त साङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पनि आउदो शनिबारदेखि सुरु हुने भएको छ। त्यसका लागि सोमबार बिहान टिकट खुला गरेको १० मिनेटमै एक लाख टिकट बिक्री भएको बताइएको छ।
अहिले खुला गर्न नसकिएका कतिपय ठाउँमा खुला गराउने तयारी पनि भइरहेको जनाइएको छ। चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण देशभरिका धेरै ठाउँका चलचित्र हलहरु खुल्ने देखिएको छ।
गत जनवरीदेखि सुरु भएको लकडाउनले चीनका चलचित्र हलहरु नराम्ररी प्रभावित भएका छन् भने केही बन्द भएका छन्। अब खुला गर्न लागिएका चलचित्र हलहरुमा कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेकोभन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने नियम बनाइएको छ।
त्यसैगरी मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, शरीरको तापक्रम नाप्नु पर्नेलगायतका नियम पनि कडाइका साथ लागु गर्न भनिएको छ। यस्तो नियमहरु टिकट काट्दा, हलभित्र र बाहिर गर्दा र भित्र बस्दासमेत अपानाउनुपर्ने बनाइएको छ।