logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

विवादपछि गायिका इब्शलले मागिन् माफी


  • राजनीति
  • बिहिबार, असार २५ २०८३

एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिपछि विवादमा परेकी गायिका इब्शल सन्ज्यालले आफ्नो भनाइप्रति खेद व्यक्त गर्दै सार्वजनिक रूपमा माफी मागेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण जारी गर्दै उनले आफ्नो अभिव्यक्तिबाट अछामवासीको आत्मसम्मान र भावनामा चोट पुगेको भए त्यसप्रति क्षमायाचना गरेकी हुन्।

केही समयअघि प्रसारित एक टेलिभिजन अन्तर्वार्तामा सन्ज्यालले अमेरिकामा बसोबास गर्ने एक अछामी परिवारमा अझै पनि महिनावारी भएका महिलालाई घरबाहिर छुट्टै कोठामा बस्न बाध्य पारिने गरेको सुनेको कुरा उल्लेख गरेकी थिइन्। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो।

स्पष्टीकरणमा उनले आफू कहिल्यै अमेरिका नगएको र त्यहाँको अवस्थाबारे प्रत्यक्ष जानकारी वा प्रमाण नभएको स्वीकार गरेकी छन्। उनका अनुसार, महिनावारी स्वास्थ्य तथा सचेतनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा प्रस्तुत गरेपछि अमेरिकाबाट एक शुभेच्छुकले फोनमार्फत अछामका एक व्यक्तिले त्यहाँ पनि महिनावारीका बेला विभेद गर्ने गरेको जानकारी दिएका थिए। अन्तर्वार्ताका क्रममा आफूले त्यही सुनेको कुरा उल्लेख गरेको बताउँदै उनले उक्त अभिव्यक्ति अछाम वा अछामवासीको प्रतिष्ठामाथि प्रहार गर्ने उद्देश्यले नभएको स्पष्ट पारेकी छन्। साथै, हाल ती शुभेच्छुकसँग सम्पर्क हुन नसकेकाले उक्त दाबी पुष्टि गर्ने प्रमाण आफूसँग नभएको पनि उनले उल्लेख गरेकी छन्।

आफू सानैदेखि छाउपडी प्रथाविरुद्ध सचेतना अभियानमा सक्रिय रहेको उल्लेख गर्दै सन्ज्यालले आफ्नो उद्देश्य महिलाले महिनावारीका बेला सुरक्षित, सफा र सम्मानजनक वातावरणमा घरभित्रै बस्न पाउनुपर्ने तथा छाउगोठमा बस्नुपर्ने अवस्थाबाट हुने सम्भावित जोखिमबाट जोगिनुपर्ने सन्देश दिनु रहेको बताएकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार