logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलीको क्यान्सरको उपचारमा सहयोगका लागि युवाहरुले गरे चटपटे व्यापार शुरु


  • रासस
  • शुक्रबार, साउन १७ २०७६

दाङ – तुलसीपुर उपमहानगरपालिका–१४ मलवार निवासी बिपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार शुरु गरेका छन् ।

२० वर्षीय ओलीलाई यही वैशाखदेखि रक्त क्यान्सर भएपछि अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । तर आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग पु¥याउन तुलसीपुरका विभिन्न क्रियाशील संस्थाहरुको पहलमा ती युवाहरुले चटपटे व्यापार गरेका हुन् ।

दाङ फिमेना गु्रप, राइट पाथ कन्सेलटेन्सी, दारी ग्याङ, द सल्यास ब्यान्डले बिहीबार चटपटे बेचेर करिब रु ४३ हजार १५७ आर्जन गरिएको राइट पाथका मेघराज ओलीले जानकारी दिए ।

“उहाँको आर्थिक अवस्था कमजोर भएकाले अहिले उपचार सम्भव भएको छैन्”, उनले भने, “त्यसैले आफ्नो सानो सहयोगले कसैले नयाँ जीवन पाउँछ भने हामीले एक दिन चटपटे बेच्न तयार छौँ भन्ने प्रतिबद्धताअनुसार एक दिन चटपटे बेचेका हौँ ।”

सङ्कलन भएको उक्त रकम बैंकमार्फत पीडित ओलीको खातामा पठाइने भएको छ । ओलीको उपचारमा अहिलेसम्म करिब रु २० लाख खर्च भइसकेको छ । साथै सहयोगका लागि सबैमा आग्रहसमेत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार