पोखरा – पोखरामा नेपाल चिकित्सक संघको आठौं चिकित्सक राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनमा देशभरबाट झण्डै ५ सय जना चिकित्सकहरुको सहभागिता रहेको छ ।
नेपाल चिकित्सक संघ गण्डकी अध्यक्ष डा निर्मल लामिछानेले सम्मेलनमा चिकित्सा क्षेत्रमा भएका अनुसन्धान तथा अनुभव आदानप्रदान र प्राप्त उपलब्धि संस्थागत गर्ने र नयाँ खोज अनुसन्धानलाई प्राथमिकता दिइने बताए ।
सम्मेलन उद्घाटन गर्दै गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक संघीयतामा गए पनि केन्द्रिय अधिकारमुक्त हुन नसकेको गुनासो गरे । उनले केन्द्रले सबै अधिकार आफैमा निहित गरेकाले समस्या भएको बताए ।
उनले भने, ‘समस्या सबै क्षेत्रमा छ, त्यस्तै समस्याबाट स्वास्थ्य क्षेत्र पनि अछूतो छैन ।’ सीमित स्रोतसाधन बाबजुद स्वास्थ्यकर्मी खटिरहेको अवस्थामा राज्यले पर्याप्त ध्यान पु¥याउन नसकेको बताउँदै चिकित्सकको सेवा सुविधा बढाउने विषयमा जोड दिए ।पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्वास्थ्य संस्थाका पूर्वाधार विकास तथा दक्ष जनशक्तिका विषयमा जोड दिए । उनले सबै नागरिकले समान रुपमा स्वास्थ्य सेवा पाउन पर्ने बताउँदै नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुन चिकित्सकलाई आग्रह गरे ।