logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

३९ मिनेटमा नै जोडियो प्रधानमन्त्री ओलीको किड्नी


  • पत्रपत्रिका
  • बिहिबार, फाल्गुन २२ २०७६

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा प्रवेश गर्नुअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफन्त र शुभचिन्तकलाई चिन्ता नलिन र नआत्तिन आग्रह गर्दै भने, ‘मलाई राम्रो हुन्छ, नराम्रो भए पनि आफ्नो देशको माटोमा उपचार हुने भएकाले चिन्ता लिन आवश्यक छैन, जे हुन्छ राम्रै हुन्छ।’ प्रधानमन्त्रीले आफ्नै देशको माटोमा उपचार गराएकाले आफूलाई जे भए पनि फरक नपर्ने र ढुक्क रहन पटकपटक आफन्त र शुभचिन्तकलाई आग्रह गरेको जानकारी वरिष्ठ चिकित्सक अरुण साय्मिले दिएकोनागरिक दैनिकमा समाचार छ । प्रधानमन्त्री ओलीलाई भिभिआइपी कक्षको ६०१ शड्ढयाबाट शल्यक्रिया कक्षमा लग्दा बिहान ९ बजेर ५७ मिनेट गएको थियो। अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले बिहान ९ बजेदेखि प्रधामन्त्री ओलीको मिर्गौला प्र्रत्यारोपण सुरु हुने जानकारी दिए पनि तयारी गर्दा करिब एक घण्टा ढिला उनलाई शल्यक्रिया कक्षमा लगिएको थियो। ओलीको मिर्गौला प्रत्यारोपण गर्ने टोलीको नेतृत्व गरेका डा। प्रेम ज्ञवालीले प्रक्रिया सुरु गरेको जनाउ दिँदा १० बजेर दुई मिनेट गएको थियो।

सर्जन प्रा.डा. प्रेम ज्ञवालीका अनुसार अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्रीले तपाईंहरूप्रति पूर्ण भरोसा रहेको बाताएका थिए । नयाँ पत्रिकासँगको संवादमा ज्ञवालीले भनेका छन्,

सबै स्वास्थ्यजाँच गरेपछि हामीले ‘केही भन्नु छ अथवा केही आदेश छ प्रधानमन्त्रीज्यू’ भनेर सोधेका थियौँ । उहाँले ‘मेरो केही भन्नु छैन, तपाईंहरूप्रति पूर्ण भरोसा छ’ मात्रै भन्नुभयो । मिर्गौला प्रत्यारोपण गर्न जम्माजम्मी चार घन्टा ३० मिनेट लाग्यो । त्योमध्ये मिर्गौला जोड्न ३९ मिनेट लाग्यो । यो भनेको सामान्य हो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था धेरै राम्रो छ । हरेक घन्टा ६ सयदेखि सात सय मिलिलिटरका दरले पिसाब हुन थालेको छ । यसको अर्थ अहिलेसम्म प्रत्यारोपण गरेको नयाँ मिर्गौलाले चार लिटरभन्दा बढी पिसाब बनाइसकेको छ । त्यो भनेको हाम्रा लागि धेरै हर्षको कुरा हो । दाताको स्वास्थ्य पनि ठीक छ । उहाँको मिर्गौला निकाल्न डेढ घन्टा लागेको थियो । दाताको शल्यक्रिया ल्याप्रोस्कोपिक विधिबाट गर्‍यौँ । यसो गर्दा सानो मात्र घाउ हुन्छ । त्यसैले दाताबाट मिर्गौला झिक्दा ल्याप्रोस्कोपिक विधि नै प्रयोग गर्न थालिसकेका छौँ । पहिला हामीले ठूलै घाउ बनाएर गर्थ्यौं। अहिले हामीले नयाँ सीप पनि सिक्यौँ र प्रविधि पनि उपलब्ध भएकाले ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरेका हौं । उहाँलाई अहिले राम्रो छ ।

‘मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ’

नाताले भान्जी पर्ने समीक्षा संग्रौला र ओलीको परिवारबीचमा निरन्तर आवतजावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्रीनिवास बालुवाटार पुगिरहन्थिन् । त्यहीबीचमा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आयो । उनी पटकपटक बिरामी पर्न थाले । प्रधानमन्त्रीलाई बीचबीचमा रगत चढाउनुपर्ने अवस्था पनि आयो । प्रधानमन्त्रीको रगत ‘ओ नेगेटिभ’ अर्थात् दुर्लभ समूहको छ । संयोगले समीक्षाको पनि ‘ओ नेगेटिभ’ नै हो । त्यसैले उनले मामालाई रक्तदान पनि गरिन् । तर, ओलीको मिर्गौलाको कार्यक्षमतामा निरन्तर ह्रास आयो ।

अन्ततः मिर्गौला प्रत्यारोपण नै गर्ने टुंगो भयो । तर, कसको मिर्गौला लिने भन्ने विषयमा छलफल भयो । रक्तदान गर्दै आएकी समीक्षा तयार भइन् । हुन त अन्य पनि इच्छुक थिए । तर, नाता र स्वास्थ्यको हिसाबले समीक्षाको मिर्गौला छनोट भयो । मिर्गौला दान गर्ने निर्णय गर्दा समीक्षाले प्रधानमन्त्रीनिवास बालुवाटारमा भनेकी थिइन्, ‘केपी ओली मेरो मामा मात्र होइन, यो देशको प्रधानमन्त्री हो र देशलाई समृद्ध बनाउने सपना लिएर हिँडेको नेता हो । त्यसैले मैले मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ ।’ समीक्षाका पति नेपाली सेनामा कार्यरत छन् । उनीहरूका एक छोरा र एक छोरी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार