logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पटनामा उपचाररत नेपालीमा कोरोनाको अन्तिम पुष्टि हुन बाँकी (अपडेट)


  • राजनीति
  • सोमबार, चैत्र १० २०७६

पुर्वी नेपालको नाका मानिने वीरगञ्जका व्यापारीलाई कोरोना संक्रमण भएको आशंका गरिए पनि अन्तिम पुष्टि भइनसकेको जानकारी त्यहाँका मेयर विजय सरावगीले दिएका छन् ।

रातोपाटीसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् । यसअघि कोरोना संक्रमणका लक्षण देखिएको तथा उनको ‘ट्राभल हिस्ट्री’ दुबई रहेको समेत आधारमा उनलाई कोरोना भाइरसको संक्रमण भएको आशंका चिकित्सकहरुले गरेका थिए ।

त्यही आधारमा उनलाई उपचारका लागि भारतको पटना पुर्याइएको थियो । पटनामा परीक्षण गर्दा रिपाेर्टमा नेगेटिभ आए पनि उनलाई कोरोनाको संक्रमण भएको हो वा होइन भनी अन्तिम निर्क्योल गर्न नसकेपछि थप परीक्षणका लागि उनको ‘स्वाब’ पुणेमा पठाइएको बुझिएको छ ।

मेयर सरावगीका अनुसार उक्त परीक्षणको रिपोर्ट एक दुई दिनमा आइपुग्नेछ ।

यतिखेर संक्रमणको आशंका गरिएका व्यापारीको परिवारलाई घरमै क्वारेन्टाइनमा राखिएको छ । तर संक्रमणको खबरले यतिखेर जनजीवन त्रसित बनेको छ । तर यस अघि उनलाई संक्रमण भएको भन्ने खालका जानकारी पर्साका सरकारी अधिकारीहरुले नै दिएपछि सोहीअनुसारका समाचारहरु सार्वजनिक रुपमा प्रकाशमा आएका थिए ।

पर्साका सहायकका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार, ‘ती व्यापारीलाई भर्ना गरिएको पटनाको अस्पताल प्रशासनसँग जानकारी माग्दा पहिले रिपोर्ट प्रष्ट नभएकोले पुनेमा पुनः परीक्षणका लागि पठाएको र अन्तिम रिपोर्ट आउन एक दुई दिन लाग्ने’ बताइएको छ ।’

‘त्यो रिपोर्ट नआइन्जेलका लागि हाल उनलाई अस्पतालमा आइसोलेसनमा राखिएको र परिवारका सदस्यहरुलाई घरमै आइसोलेसनमा राखिएको’ पनि उनले जानकारी दिए । उनका अनुसार ‘संक्रमणको आशंका गरिएका व्यापारीका परिवारका सदस्यहरुलाई सुरक्षाकर्मीहरुले पहरा दिएर घरमै राखिएको र अन्तिम रिपोर्ट नआइन्जेलका लागि कहाँ लगेर राख्ने भन्नेबारे भोलि टुंगो लगाइने‘ छ ।

प्रदेश नं. २ का प्रहरी प्रमुख डिआईजी प्रद्युम्न कार्कीले पनि यसअघि भाइरसको पुष्टि भएको भनिए पनि अहिले शंका गरिएका विरामीको छोरासँग बुझ्दा अर्को जाँच गर्न पनि प्रयोगशालामा पठाइएकाले पुष्टि भइ नसकेको जानकारी गराएको’ बताए । उनका अनुसार, रिपोर्ट आउन दुई दिन लाग्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार