राजनीति
सरकारले ज्वरो आएका विरामीको उपचारै नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।
कतिपय अस्पतालले ज्वरो आएका विरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काइदिने गरेकामा सरकारले यस्तो पाइए कारबाही गर्ने बताएको हो ।
‘के सरकारी, के गैरसरकारी, के सामुदायिक सबै अस्पतालले आफ्नो दायित्व बुझ्नुपर्ने हुन्छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने । मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा उनले यस्ता अस्पतालविरुद्ध कडा कदम चाल्न नपरोस् भन्ने चेतावनी पनि दिएका छन् ।
‘संक्रमणकालीन अवस्थामा गरिने नियम हेरेर हामीले काम गरिरहेका छौं, कम्तीमा बिरामी नफर्काइदिनुस्, मन्त्रालयले तोकेको प्रोटोकलअनुसार उपचार गर्नुहोस्’ प्रवक्ता देवकोटाले भने ।
सरकारले तोकेका कोरोना विशेष अस्पताल, हब अस्पताल, प्रादेशिक अस्पताल, मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले अनिवार्य रुपमा ज्वरो क्लिनिक र आकस्मिक सेवा दिनुपर्ने डा. देवकोटाले बताए । त्यसबाहेक अन्य अस्पतालले पनि आकस्मिक स्वास्थ्य सेवा यथारुपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
‘कुनै पनि अस्पतालले आकस्मिक सेवा लिन आएका बिरामीलाई अब फर्काउनुहुने छैन भन्ने विश्वास गरेका छौं’ देवकोटाले भने ।
यस्तै नेपालमा कोरोना संक्रमण देखिएका बिरामीको अवस्था सामान्य रहेको सरकारले जनाएको छ । कोरोना संक्रमित ५ जनामध्ये एक जना निको भइसकेका छन् भने बाँकी चार जनाको उपचार भइरहेको छ ।
दुई जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, एक जनाको धनगढीको सेती प्रादेशिक अस्पताल र एक जनाको बागलुङको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।
डा. देवकोटाले सबै संक्रमितको स्वास्थ्यमा जटिलता नआएको बताए ।