राजनीति
विश्वभर महामारीको रुपमा फैलि कोभिड १९ को महामारीबाट विश्वमा ८८ हजार ४ सय बढी मानिसहरुको ज्यान गइसकेको छ भने १५ लाख १८ बढी संक्रमित भइसकेका छन्। पहिलोपटक चीनको वुहानमा डिसेम्बर ३० मा कोरोनाभाइरसको संक्रमण देखिए यताका ४ महिनामै यो विश्वका २०९ देशमा फैलिइसकेको छ।
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट अहिलेसम्म कसैको ज्यान गएको छैन। ९ जनामा संक्रमण देखा परेकोमा १ जना निको भएर घर फर्किसकेका छन् भने ८ जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ।
नेपालमा कसैको मृत्यु नभए पनि विदेशमा रहेका नेपालीहरु भने यो भाइरसबाट प्रभावित बनेका छन्। वैदेशिक रोजगारी, अध्ययन वा आवासीय रुपमा विदेशमा रहेका केही नेपालीहरुको यहीँ भाइरसका कारण मृत्युसमेत भइसकेको छ भने थुप्रै संक्रमणको मारमा परिसकेका छन्।
विदेशमा ज्यान गुमाउने नेपालीहरु?
यी हुन बेलायतमा मृत्यु हुने ५ नेपाली
कोरोनाभाइरसको संक्रमणबाट बेलायतमा रहेका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको निधन भएको छ। संखुवासभाको खाँदबारी नगरपालिका-१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आउनुभएका ६६ वर्षीय लीलाबहादुर राईको लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको हो।
संखुवासभाबाट बसाइँ सरेर सुनसरीको इटहरी उपमहानगरपालिकामा घर बनाएका उनकाे सन् २००८ मा बेलायत गएका थिए । आर्मी नम्बर २११६०५८१ का राई सेकेण्ड गोरखा राइफल्समा १७ वर्षसम्म सेवा गरे ।
श्रीमती र छोराबुहारीसँग बेलायतमा बस्दै आएका राईको २० वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।
त्यस्तै लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्यालको पनि कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ।
उपचारको क्रममा अर्यालको लण्डनको क्वीन एलिजावेथ अस्पतालमा मृत्यु भएको थियो। मृत्यु भएको ४ दिनपछि मात्रै उनलाई कोरोना संक्रमणको पुष्टि भएकाेे हाे ।
बेलायतस्थित नेपाली दूतावासले कोरोना संक्रमणबाट बेलायतमा दुई जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ।
कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु भएको छ। उनीहरुमध्ये दुई जनाको बुधबार र अर्का एकको मंगलबार मृत्यु भएको हो।
लण्डनको ह्यारोमा बस्दै आएका ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको मंगलबार लण्डनस्थित नर्थविकपार्क अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतकाअनुसार रुघाखोकी, ज्वरो लगायतका लक्षण देखिएर केहि दिन घरमै आइसोलेसनमा बसेका उनी १ साताअघि अस्पताल भर्ना भएका थिए। मधुमेहका रोगीसमेत रहेका उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो।
पर्वत पैंयू स्थायी घर भएका गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका थिए। मंगलबार गुरुङको निधन भएकै नर्थविक अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ। नातीको बिहेका लागि केहि महिनाअघि बेलायत आएका अन्दाजी ७७व र्षका मृतक कोरोना महामारीकै कारण नेपाल फर्किन नपाएर लण्डनमै रोकिएका थिए। उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपनि परिवारले विवरण गोप्य राख्न चाहेको उनका आफन्तले बताएका छन्। नेपालबाटै सँगै आएकी मृतककी पत्नीसमेत अहिले लण्डनमै छिन्।
बुधबार नै बेलायतको नटिङहममा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा शिव श्रेष्ठको पनि निधन भएको छ। करिब १ साताअघिदेखि आइसोलेसनमा बस्दै आएका श्रेष्ठ श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए। बुधबार दिउँसो अस्पतालमै मृत्यु भएका उनलाई ह्दयघातकोसमेत आशंका गरिएको छ। सोलुखुम्बु घर भएका श्रेष्ठका श्रीमती र दुई छोरासहित बेलायतमा बस्दै आएका थिए।
अमेरिकामा मृत्यु भएका यी हुन् ६ नेपाली
कोरोनाभाइरसका कारण अमेरिकामा पहिलोपटक न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय अनिल लिम्बूको मृत्यु भएको हो।
पाँचथर कुम्मयाक गाँउपालिका-९ का ५० वर्षीय अनिल १८ वर्षदेखि न्युयोर्कमा ट्याक्सी चलाउने काम गर्दै आउनुभएको थियो। उहाँका दुई छोरा र एक छोरी छन्। अनिल मधुमेहका रोगीसमेत रहेको उहाँको पारिवारिक स्रोतले जनाएको छ।
मृतक लिम्बूले २०१५ देखि २०१७ सम्म एनआरएनए न्युयोर्क च्याप्टर बोर्ड आफ डाइरेक्टरको भूमिका निर्वाह गर्नुभएको थियो।
त्यस्तै, सोलुखुम्बु घर भएका ४४ वर्षीय ङिमा टेम्बा शेर्पाको बुधबार (आज) बिहान स्थानीय एल्मष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँका दाजु लाक्पा युंला शेर्पाले पुष्टि गर्नुभएको छ।
न्यूयोर्कको ज्याशन हाइट क्षेत्रमा बस्ने शेर्पाका एक श्रीमती, एक छोरा र एक छोरी छन्।
त्यसैगरी केही दिनअघि नेपालको मुस्ताङ घर भई न्यूयोर्कमै बसोबास गरिरहनुभएका ४० वर्षीय सोनाम लामा र ४८ वर्षीय थोक्मे बिष्टको एकै दिन आफ्नै अपार्टमेन्टमा मृत्यु भएको थियो।
न्यूयोर्कको ज्याक्सन हाइट क्षेत्रमा बस्दै आउनुभएका दुवै घरभित्रै मृत अवस्थामा भेटिएको नुप्रि एसोसिएसनका पूर्वअध्यक्ष मिङ्मार लामाले बताउनुभयो।
लामा न्युयोर्कको क्विन्सस्थित जमाइकामा बस्नुहुन्थ्यो भने थोक्मे विष्ट क्विन्स सन्नी साइड बस्नुहुन्थ्यो। विष्ट १२ वर्षदेखि अमेरिकामा बस्दै आएको बताइएको छ।
केही दिनदेखि बिरामी रहेका सोनामको लामो समय फोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा मृत भेटिएको बताइएको छ। १८ बर्षदेखि अमेरिकामा बस्दै आउनुभएका सोनाम र १२ वर्षदेखि अमेरिकामा रहनुभएका थोक्मे दुवैका परिवार भने नेपालमा रहेको बताइएको छ।
त्यस्तै, न्यूयोर्क निवासी अजयमान छोंचुँको स्थानीय एल्मष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको छ। नेवानख न्यूयोर्कका अनुसार अस्पतालले हृदयघातका कारण उपचारत छोंचुँको शनिबार दिउँसो ४ बजे मृत घोषणा गरेको थियो। ब्याक्टेरियल निमोनिया देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो। छोंचुँ श्रीमती र परिवार सहित यूयोर्कको क्विन्सस्थित ग्रयाण्ड एभिन्यूमा बस्दै आउनुभएको थियो।
अमेरिकामै कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार आज बिहान बिहान ५ः१८ मा क्वीन्सको एल्मर्स्ट अस्पतालमा ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।
शेर्पा किदुगका आजीवन सदस्य समेत रहेका थिए । किदुगका अध्यक्ष उर्गेन शेर्पाले इनेप्लिजलाई दिएको जानकारीका अनुसार दुई दिनअघि नै उनको मृत्यु भएको हल्ला चलेपनि उनको मुटुको चाल बन्द नभएको र आज बिहान अस्पतालले मृत घोषणा गरेको थियो ।
स्वर्गीय शेर्पा कोरोना भाइरस संक्रमणका कारण विगत केही हप्तादेखि अस्पतालमा उपचारारत थिए ।
शेर्पाको निधन भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको किदुगले उल्लेख गरेको छ ।
युएईमा एक महिलाको मृत्यु
संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने महिला रुपन्देही देबदह– ६ की ४० वर्षीया बिनु पराजुली हुनुहुन्छ।
काम गर्ने घरमै अचेत अवस्थामा फेला परेकी पराजुलीलाई अस्पताल लगिएको थियो। अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो।
९ वर्षदेखि दुबईमा कार्यरत बिनु मृत्यु हुनु केही दिनअघि अस्पतालमा जाँचका लागि गएको र केही औषधि लिएर काम गर्ने घरमै फर्केर आराम गरिरहेको बताइएको छ।
पछिल्लो समयमा उहाँ काम चेन्ज गर्ने भन्दै भिजिट भिषामा बरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आउनुभएको थियो। उहाँका श्रीमान डोलराज पराजुली पनि एक महिनादेखि भिजिट भिसामा युएईमा हुनुहुन्थ्यो।
दुबईस्थित अल रफ्फा प्रहरी चौकीले पराजुलीको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट श्रीमान डोलराज पराजुलीलाई उपलब्ध गराएको थियो।