logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पोखरामा कोरोना सङ्क्रमणको र्‍यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) शुरु


  • रासस
  • शनिबार, चैत्र २९ २०७६

पोखरा -जिल्लामा कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि र्‍यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) शुरु भएको छ ।

शुक्रबार रुपा गाउँपालिबाट परीक्षण शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । रुपाका दुई वडाका आठ जनाको परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्यालय प्रमुख बाबुराम आचार्यले बताए ।

चैत महिनामा विदेशबाट आएका सबैको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि परीक्षण गर्ने सरकारी नीतिअनुसार जिल्लामा लकडाउनअघि आएका सबै जनाको परीक्षण गर्न लागिएको उनले जानकारी दिए । आरडिटी किटमार्फत कोरोना परीक्षण गर्दा १५ मिनेटमै नतिजा आउने बताइन्छ ।

“जिल्लामा आरडिटी परीक्षण शुरु भएको छ । सम्बन्धित स्वास्थ्यकर्मीलाई कार्यालयबाट परीक्षणको तालिम दिएर पठाएका छौँ । तीनचार दिनभित्रमा विदेशबाट आएका र परीक्षणको मापदण्डमा पर्नेको जाँच गरिसक्छौँ”, आचार्यले भने । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित फेला परेका नौमध्ये आठ जना विदेशबाट आएका रहेकाले चैत महिनायता विदेशबाट फर्किएकाको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि सबैको परीक्षण गर्न लागिएको हो ।

पोखरा महानगरपालिकाभित्र परीक्षण मापदण्डमा परेका ३८८ रहेकामा सीमित मात्रामा किट आएकाले परीक्षण शुरु गर्न अन्योल भएको स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए । महानगरलाई २४० थान मात्र किट प्राप्त भएकाले सबैको परीक्षण गर्न कठिनाइ हुने भएकाले व्यक्तिगत रेकर्ड हेरेर भेरिफाइ गरी मात्र परीक्षण शुरु गर्ने तयारी गरिएको बताइएको छ ।

सङ्घीय सरकारले प्रदेश सरकारलाई कोरोना ¥यापिड टेष्टका लागि पाँच हजार थान किट बिहीबार उपलब्ध गराएसँगै प्रदेशका नौ जिल्लामा परीक्षण शुरु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । मनाङ र मुस्ताङमा समेत आजदेखि परीक्षण हुने बताइएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार