logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माेरङमा एक युवतीमा काेराेना पाेजेटिभ


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०७७

भारतबाट फर्किएको २४ दिनपछि मोरङमा एक युवतीमा कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको छ ।

बिहीबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा बुढीगंगा गाउँपालिका– १ कि २७ वर्षकी युवतीमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको हो ।

बुढीगंगा गाउँपालिका १ का वडाअध्यक्ष युवराज पौडेलका अनुसार युवती अर्का एक साथीसँगै बैंगलोरबाट १० चैतमा घर आएकी थिइन् । उनी घर आएदेखि होम क्वारेन्टाइनमा बसिरहेकी थिइन् ।

युवतीलाई कोशी अस्पताल विराटनगरको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । अस्पतालले युवतीमा कोरोना रहेको वा नरहेको निश्चित गर्न प्रयोगशाला परीक्षण गर्दैछ । यसको नतिजा शुक्रबार आउनेछ ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले एकजनामा र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको जानकारी आफूलाई आएको बताए ।

बुढीगंगा गाउँपालिकामा बिहीबार पुगेको परीक्षण टोलीले २७ वर्षकी युवतीसँगै आएकी अर्की युवतीको पनि परीक्षण गरेको थियो । तर उनमा र्‍यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी नेगेटिभ आएको थियो ।

र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि युवतीलाई विराटनगरस्थित कोशी अस्पताल ल्याउन वडा अध्यक्षसहितको टोली युवतीको घर पुगेको थियो ।

युवतीलाई अस्पतालसम्म लैजानका लागि एउटा भ्यान बोलाइएको थियो । तर भ्यानले भने कोरोना शंकास्पद विरामी भनेपछि बोक्न मानेन । त्यसपछि एम्बुलेन्सा राखेर ल्याइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार