logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जनकपुरमा काेराेना त्रास, पैसाकाे बिटाे सडकमा फाल्दै भागे दुई महिला


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०७७

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा २ जना महिलाले सडकमा यत्रतत्र १० रुपैयाँका नोट फ्यालेर भागेका छन् । सडकमा यत्रतत्र पैसा फालेर भागेपछि स्थानीयवासी कोरोना भाइरस संक्रमण फैलने आशंकामा त्रसित भएका छन् । स्थानीयवासीहरुले कोरोना संक्रमण फैलाउने उद्धेश्यले ती महिलाले पैसा छरेर भागेको हुनसक्ने आशंका गरेका छन् । जनकपुरधाम वडा नम्बर ४ मा पर्ने महावीर चोकमा अपरिचित २ महिलाले सडक र पसल अगाडी रकम फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका हुन् ।

शुक्रबार करिब १ बजे २ जना महिलाले १० रुपैयाँको नोट जथाभावी छरेर भागेको स्थानीयवासीहरुले बताए । निलो र हरियो रंगको साडी लगाएका ती महिलाले करिब सय मिटरको दूरीसम्म सडक र पसल अगाडी १० रुपैयाँको नोट फ्यालेको स्थानीयवासीहरुले बताए ।

स्थानीयवासीले सडकमा पैसा किन फ्यालेको भन्दै सोधेपछि महिलाहरु पेठिया बजारतर्फ भागेको स्थानीयवासीहरुले बताए । ‘निलो र हरियो रंगको लुगा लगाएकी मुस्लिमजस्तै देखिने दुईजना महिलाहरु पैसा फ्याल्दै हिँडेको हामीले देख्यौं, पैसा किन फ्यालेको सोधेपछि दुबैजना एकाएक भागे,’ महावीर चोकका शंकर साहले भने ।

उनले भने– ‘तीन चारजना मानिसले उनीहरुले फ्यालेको नोट सडकबाट उठाएका छन् ।’ घटनालगत्तै स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी टोलीले नोट छरिएको ठाउँमा तत्कालै सेनिटाइजर छर्केको छ । सडकमा छरिएका केही नोट प्रहरीले समेत टिपेको छ ।

प्रहरीले नोट फ्यालिएको स्थानलाई पहिचान गरी गोलो घेरा बनाएर सेनेटाइजर छर्केको छ । सडकमा नोट फ्याल्ने महिलाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै सडकमा छरिएका नोट उठाउने स्थानीयवासीको समेत खोजी भइरहेको प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार