logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आइसोलेसनमा रहेका एक बिरामीको मृत्यु काेराेनाकाे आशंका


  • राजनीति
  • शनिबार, बैशाख ६ २०७७

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसोलेसनमा रहेका एक जना बिरामीको शनिबार मृत्यु भएको छ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ बढैयाका ४२ वर्षका स्माइल बेहनाको बिहान मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.रोमन किदवाईले जानकारी दिए ।

‘तीन दिनअघि सिकिस्त बिरामी भइ अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । अन्त कतै उपचार गरेर सिकिस्त भएर अस्पताल आएका थिए’, डा.किदवार्ईले अन्नपूर्ण पोस्ट्सँग टेलिफोनमा भने, ‘आएको पहिलो दिन नै दम, रुघाखोकी र ज्वरो थियो । लक्षण हेर्दा कोभिड १९ सँग मिल्दोजुल्दो थियो । हामीले तत्कालै आइसोलेसनमा राखेर उपचार जारी राखेका थियौं ।’ उनी एक डेढ महिना अघि भारतबाट आएको बताइएको छ ।

सिकिस्त बिरामी भए पनि भीटिएमको अभावमा उनको कोरोना जाँच गर्न नसकिएको डा.किदवाइले बताए । मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालको आइसोलेसनमा अहिले पनि १३ जना शंकास्पद बिरामी राखिएको उनले प्रष्ट पारे ।

शनिबार मृतक बेहनाको स्वाब संकलन गरिएको छ । उनको शव अस्पतालमै राखिएको भए पनि कहाँ राख्ने भन्ने समस्या भएको छ । त्यसबारेमा उपमहानगरपालिका लगायतका सरोकारवालाहरुसँग छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

बाँकेका आरटीडीबाट चार सय पाँच र पीसीआरबाट ७८ जना गरी चार सय ९७ जनाको कोरोना जाँच भएकोमा १४ जनाको रिपोर्ट आउन बाँकी रहेको बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार