logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

डाक्टर पुन प्रकरण युटर्न : काेराेनाबारे छलफलमा बाेलाएकाे मन्त्रालयकाे दाबी


  • राजनीति
  • आइतबार, बैशाख ७ २०७७

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरणको शुक्रबार पत्र काटेको भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा शनिबार चर्चाको विषय बन्यो ।

तर मन्त्रालयद्वारा गरिने नियमित पत्रकार सम्मेलमा कोरोना उपचार र पहिचानको विषयमा छलफल गर्नका लागि डा. पुनलाई डाकेको मन्त्रालयले स्पष्ट पारेको छ । सामाजिक सञ्जाल र मिडियाहरुले कुरा नबुझिकन मन्त्रालय र मन्त्री भानुभक्त ढकाललाई अनावश्यक टिकाटिप्पणी नगर्न मन्त्रालयले ध्यानाकर्षण समेत गराएको छ ।

डाक्टर पुनलाई मन्त्रालयले स्पष्टिकरण सोधेको विषयमा विभिन्न सञ्चारमध्यमा समाचार शनिबार बाहिरिएपछि चिकित्सकको मनोबल कमजोर बनाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टिकरण सोध्न लागेको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो ।

सामाजिक सञ्जाल र मिडियामा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको नामसमेत जोडिएपछि शनिबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइ माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नामसमेत मुछी अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकोमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । यस्तै यस सन्दर्भमा सत्य तथ्य नबुझिकन अनर्गल प्रचार प्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउनुहुन सचेत गराइन्छ भनेर स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण गराएको थियो ।

आइतबार डाक्टर पुन अस्पतालबाट पत्र बुझेर मन्त्रालय पुगेका छन् । मन्त्रालय पुगेका पुनले पनि आफूलाई मन्त्रालयले स्पष्टिकरण सोध्नभन्दा पनि विज्ञको रुपमा मन्त्रालयालाई सहयोग गर्नका लागि बोलाएको बताएका छन् । उनले आफू मन्त्रालयमा नतानिएको र शुक्रराज ट्रपिकल अस्पतालमा नै कार्यरत रहने र आवश्यक परेको खण्डमा मन्त्रालयमा आएर सघाउने सहमति भएको जानकारी दिए ।

डा. पुनले आफूसँग जोडिएर सार्वजनिक सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारहरुमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै पत्रमा आफूलाई आफू कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पु-याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा रहेको जिकिर गरेका छन् ।

उनले यसलाई वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएको पनि बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार