राजनीति
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप दुई जनाको मृत्यु कोरोनाकै कारण भएको हो।
प्रवक्ता गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका-४ घर भएका ४६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो। सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। मृतक पुरुषमा जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार राति उनको मृत्यु भएको गौतमले जानकारी दिए।
त्यसैगरी कैलालीकै लम्कीचुहा नगरपालिका-२ की ४३ वर्षीया महिलाको समेत कोरोनाकै कारण मृत्यु भएको छ। जेठ ३१ गते टाउकोमा चोट लागेको र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी महिलाको सर्जरी गर्नु अघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। उनको बुधबार साँझ मृत्यु भएको हो।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ५५ हजार ५ सय १८ र आरडीटी विधिबाट दुई लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ। अहिलेसम्म कोरोना जित्नेको संख्या भने ११ सय ८६ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन्।
अहिले क्वारेन्टाइनमा एक लाख १६ हजार २ सय १५ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।