logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पर्वतमा १९ करोडमा सुविधासम्पन्न अस्पताल बन्दै


  • रासस
  • आइतबार, भाद्र ७ २०७७

यहाँको एक विकट गाउँमा सुविधासम्पन्न अस्पताल निर्माण गर्न थालिएको छ । बिहादी गाउँपालिका वडा नं २ बर्राचौरमा १५ श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको हो । अहिलेसम्म सदरमुकाम कुश्माबजारमा मात्र १५ श्ययाको अस्पताल रहेको थियो ।

नेपाल सरकारमार्फत रु १९ करोड लगानीमा अस्पताल निर्माणको प्रक्रिया शुरु भएको वडा नं २ का वडाध्यक्ष ओमप्रकाश कुँवरले जानकारी दिए । अस्पताल निर्माणका लागि बोलपत्र आह्वान भइरहेको छ । सुविधासम्पन्न अस्पताल नहुँदा दक्षिण पर्वतका नागरिक सामान्य उपचारका लागि पनि पाल्पा, पोखरा, बुटवललगायतका ठाउँमा जान बाध्य छन् । अब भने अधिकांश सेवासहितको अस्पताल बन्ने भएपछि त्यस क्षेत्रका नागरिकलाई सहज हुने अध्यक्ष कुँवरले बताए ।

अस्पताल बनाउनका लागि स्थानीय आठ व्यक्तिले निःशुल्करूपमा जग्गादान गरेका छन् । स्थानीय डोलेन्द्र गिरी, भूपेन्द्रनाथ पौड्याल, इन्द्रकला पौड्याल, सुशीला गिरी, होमनाथ गिरी, राम गिरी, कृष्ण गिरी र खगेश्वर भट्टराईले निःशुल्करूपमा जग्गादान गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष कमल भुषालले यस्तो विकट गाउँमा सुविधासम्पन्न अस्पताल निर्माण हुनु गौरवको कुरा भएको उल्लेख गर्दै सामान्य शल्यक्रिया तथा सुत्केरी हुन पनि पाल्पा, बुटवल, पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे ।

उनले समयमै अस्पतालको निर्माण पूरा गर्न गाउँपालिकाले नियमित सहजीकरण गर्ने बताए । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरिने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार