logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काेराेनाबाट ७२ जनाकाे ज्यान गयाे !


  • राजनीति
  • सोमबार, बैशाख १३ २०७८

दैनिक तिब्र रूपमा फैलिरहेको कोरोना संक्रमणको कारण तीन दिनभित्रैमा ७२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। तथ्यांकअनुसार गत चौविस घण्टामा १६ जनाको मृत्यु भएको हो।

त्यस्तै शनिबार १४ र शुक्रबार ५ जनाको मृत्यु भएको थियो। यसै गरी यो तीन दिनभित्र थप ३७ जना मृतकमा संक्रमण पुष्टि भएको छ। यीसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ। हाल नेपालमा दैनिक मृत्युदर १।०५ प्रतिशत पुगेको छ।

गत २४ घण्टामा संक्रमणदर बढेर ३० दशमलव ९७ प्रतिशत पुगेको छ। यो अघिल्लो दिनको तुलनामा करिब १ प्रतिशत बढी हो। गत २४ घण्टामा १० हजार ७८ वटा नमुना परीक्षण भएका थिए। नेपालमा कुल संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको छ। देशभरिमा १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित छन्।

तीमध्ये २ सय ५२ जना आइसियुमा, ६५ जना भेन्टिलेटरमा र संस्थागत आइसोलेसनमा १ हजार ५ सय ९४ जनाको उपचार भइरहेको छ। संक्रमित हुनेमा सबैभन्दा बढी युवा उमेरका छन्। मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके, रूपन्देही र पर्सा गरी नौ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

दैनिक संक्रमण दर वृद्धि भएसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विनियोजित बजेटअनुसार हाइडिपेन्डेन्सी युनिट तयार गरेनगरेको तस्बिरसहित जानकारी गराउन अस्पतालहरूलाई निर्देशन दिएको छ। काम नभएको अवस्थामा बजेट फिर्ता लैजाने मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार