राजनीति
लामो प्रक्रियापछि चीनबाट ल्याएको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप २७ भदौदेखि लगाइने भएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट ‘डेमो’का रूपमा खोप कार्यक्रम सुरु गर्न लागिएको हो ।
प्रसूति अस्पतालमा बागमती प्रदेशभित्रका सीमित बालिकालाई खोप दिइनेछ । पहिलो चरणमा ल्याइएको २० हजार डोज खोप बालिकालाई परिचयपत्रका आधारमा दिन लागिएको हो । तर, दोस्रो चरणमा गाभी कम्पनीको खोप ल्याउने प्रक्रिया अघि बढेकाले १० देखि १४ वर्षसम्मका बालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
वर्षमा सरकारले खोप किन्न पर्याप्त रकम विनियोजन नगरेको परिवार कल्याण महाशाखाले जनाएको छ । पाठेघरको क्यान्सरको सबैभन्दा मुख्य कारण एचपिभी भाइरस हो । अझ यो खोप यौन सम्बन्धमा आउनुपूर्व लगाउँदा प्रभावकारी हुने भएकाले पहिलो चरणमा १४ वर्षकै बालिकालाई लक्षित गरिएको महाशाखाका प्रमुख डा. लालको भनाइ छ । समयमै खोप लगाउँदा संक्रमणविरुद्धको एन्टिबडी बनिसक्ने भएकाले पाठेघरमा क्यान्सर हुने अवस्था नदेखिने उनको भनाइ छ ।
हाल नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको पाइन्छ । सरकारले ३० वर्ष पुगेका महिलालाई हरेक पाँच वर्षको अन्तरालमा पाठेघरको परीक्षण गराउन भन्दै सरकारी अस्पतालमा यसको चेकजाँच हुने व्यवस्था सुरु गरिसकेको छ ।
खोप लगाउन तोकिएका अस्पताल
प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली
कोशी अस्पताल, विराटनगर
नारायणी अस्पताल, वीरगन्ज
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
भेरी अस्पताल, नेपालगन्ज
कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर
डडेल्धुरा अस्पताल