logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाठेघरकाे मुखको क्यान्सर डरलाग्दो : हरेक दिन २ जनाकाे मृत्यु


  • राजनीति
  • शनिबार, भाद्र २३ २०८०

सरकारले यही २७ भदौदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोग विरुद्धको २० हजार मात्रा एचपीभी खोप लगाउने जनाएको छ ।

विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने बताए ।

उनले एचपीभी खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान हुने जनाए । यो खोप यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ । पहिलो मात्रा खोप लगाउँदा उमेर खुल्ने आधिकारिक प्रमाण, दोस्रो मात्राको हकमा पहिलो मात्रा लगाएको खोप कार्ड आवश्यक पर्ने बताए ।

साधारणतया एचपीभी खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिगंटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्सन हुने भए पनि यी असरहरु सामान्य मात्रै भएको बताए । निकट भविष्यमा १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउने गरी राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने जानकारी दिए । एचपीभीले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सरसमेत गराउन सक्ने बताए ।

उनले पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा धेरै जसोमा लक्षण नदेखिए पनि अन्तिम अवस्थामा मात्र पहिचान हुनसक्ने बताए । संक्रमण हुँदा पछि गएर तल्लो पेट दुख्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्त अल्पता जस्ता लक्षणहरु देखिने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार