राजनीति
इश्लामाबाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे पाकिस्तानले पनि जवाफ दिने बताएका छन् । मंगलबार एक टेलिभिजन सम्बोधनमा बोल्दै उनले सो कुरा बताएका हुन् । खानले मन्तव्यका क्रममा हालैको काश्मीर घटना पाकिस्तानले गराएको भन्ने आरोपको खण्डन गर्दै प्रमाण दिन समेत आग्रह गरेका छन् ।
भारतले गएको विहीबार भारतीय सुरक्षाकर्मीको हत्या गरिएको विषयमा पाकिस्तानलाई दोष लगाउँदै आएको थियो । भारतले आक्रमणकारी जैश ए मोहम्मदलाई पाकिस्तानले आश्रय दिइरहेको आरोप लगाउँदै आएको छ ।
पाकिस्तानका प्रधानमन्त्री खानले काश्मीरको विषयमा भारतलाई वार्तामा आउन पनि आग्रह गरेका छन् । उनले भने,‘‘म भारतलाई अफर गरिरहेको छु । तपाईहरु आउनुस् र जाँच गर्नुस् । यदि कसैले पाकिस्तानको भूमि प्रयोग गरिरहेका छन् भने तिनीहरु हाम्रालागि पनि दुश्मन हुन् ।’’
उनले भनेका छन्,‘‘काश्मीरको पछिल्लो घटनालाई लिएर भारतीय राजनीतिज्ञ र मिडियाले पाकिस्तानसँग बदला लिनुपर्छ भनिरहेका छन् । यसका लागि आक्रमण गर भनिरहेका छन् । यदि तपाई पाकिस्तानतर्फ आक्रमण गर्नुहुन्छ भने पाकिस्तान के सोचेर बस्ला ? सोचेर बस्दैन । जवाफ दिन्छ ।’’
(बीबीसी)