logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपाली सेनामा पाकिस्तानी घुसपैठ गराउन खोजेको भारतीय मिडियाको आरोप


  • एजेन्सी
  • शुक्रबार, चैत्र २२ २०७५

भारतको चर्चित मिडिया ‘आजतक’ ले आफ्नो गोप्य सुत्रको हवाला दिँदै पाकिस्तानको गुप्चतर एजेन्सी ‘आईएसआई’ नेपाली सेनामा घुसपैठ गर्ने प्रयासमा रहेको समाचार प्रकाशित गरेको छ ।

यसको लागि पाकिस्तानको गुप्चतर एजेन्सी आईएसआई र पाकिस्तानी सेना नेपालको राजधानी काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज (राष्ट्रिय प्रतिरक्षा कलेज)’ बनाइरहेको जानकारी आफूहरुले प्राप्त गरेको समाचारमा लेखिएको छ ।

चीनको शैलीमा पाकिस्तान नेपालसँग नजिक हुने कोशिस गरिरहेको र त्यसमार्फत नेपालमा भारतविरोधी काम गर्न खोजिएको ‘आजतक’ले आरोप लगाएको छ ।

सुरक्षा विभागको सुत्र भन्दै सो मिडियाले पाकिस्तानले काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज’ बनाएर नेपाली सेनामा आफ्नो प्रभाव बलियो पार्न खोजेको दावी गरेको छ ।

‘आजतक’ले पाकिस्तानले काठमाडौँमा रहेको आफ्नो हाई कमिशनमार्फत भारतविरोधी प्रोपागाण्डा पनि चलाइरहेको आरोप पनि लगाएको छ ।

‘नेशनल डिफेन्स कलेज’ बनाउने विषयमा पछिल्लो केही दिनभित्र पाकिस्तान र नेपालबीच कयैन चरणमा बैठक भइसकेको जानकारी आफूहरुसँग रहेको ‘आजतक’को दावी छ ।

सोही समचारमा मोरङ जिल्लामा लश्कर–ए–तोयबाका संदिग्ध मौलाना उमर मदनी भारत विरोधी कार्य गरिरहेको पनि लेखिएको छ । मौलाना मदनीले विदेशबाट पैसा मगाएर नेपालका मुसलमान बहुल जिल्लाका मुसलमान युवाहरुलाई लश्करमा सामेल गराइरहेको समाचारमा उल्लेख छ ।

भारतीय गुप्तचर एजेन्सीहरुले मदनीले विदेशी रकम नेपालका एनजीओहरुमार्फत ल्याएको इशारा गरेको र यसमा कतारदेखि समेत पैसा आइरहेको उसको दावी छ ।

नेपाल र भारतबीच १७५१ किमी लामो खुल्ला सिमाना रहेको छ । यस खुल्ला सिमानालाई पाकिस्तानले भारतविरुद्ध प्रयोग गर्ने गरेको भारतीय मिडियाहरुले पहिलेदेखि आरोप लगाउने गरेका छन् ।

तर, नेपालको वैधानिक संस्था नेपाली सेनानै एक विदेशी मित्र राष्ट्र गुप्चतरको प्रभावमा परेर छिमेकी मित्रराष्ट्रविरुद्ध लाग्न लागेको समाचार आउनु निक्कै गम्भिर विषय हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार