logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

के भन्छिन चे ग्वेभाराकी जेठी छोरी


  • राजनीति
  • बिहिबार, असोज २६ २०७४

Dr. Aleida Guevara, daughter of Cuban revolutionary leader Che Guevara, speaks to pupils at Queens University, Belfast, Northern Ireland Thursday.

क्युबाकी कम्युनिष्ट क्रान्तिकारी नेता चे ग्वेभाराकी छोरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पागलपनबाट मानवता नष्ट हुनसक्ने चिन्ता व्यक्त गरेकी छन् । चेकी सबैभन्दा ठूली छोरी डा. एलीडा ग्वेभारा मार्चले अमेरिकामाथि जनताको शक्ति कुल्चन युद्धको प्रयोग गरेको आरोप पनि लगाइन् ।

ग्वेभारा परिवारका लागि प्रायः प्रवक्ताको रुपमा देखिने ५७ वर्षीया एलिडाले क्युबाको राजधानी हवानामा आयोजित एक साक्षात्कारमा द विकम्यागाजीनसँगको कुराकानीमा भनिन्, ‘यी व्यक्ति (डोनाल्ड ट्रम्प)सँग मानवताको नष्ट गर्ने ठूलो शक्ति छ र हामी उक्त मानवताको हिस्सा हौं । समस्या यो हो कि उनीसँग शक्ति छ, स्वविवेक छैन ।’

अबको दश वर्षपछि क्युबा कस्तो होला भनेर सोधिएको प्रश्नको जवाफ दिँदै एलिडाले भनिन्, ‘यो अमेरिकाको वर्तमान राष्ट्रपतिको पागलपनमाथि काफी निर्भर हुन्छ ।’

उनले ट्रम्पतर्फ संकेत गर्दै भनिन्, ‘मलाई विश्वास छैन र विश्वास पनि गर्न चाहन्नँ कि हामी आफ्नै ग्रहको नष्ट गरिरहेका छौं । हामी जे विध्वंस गर्न गइरहेका छौं, त्यो यसअघिको निष्क्रियता हो र सत्तामा यस्ता पागल व्यक्तिको चिज झन जटिल हुनजान्छ ।’

एलिडाले अगाडि भनिन्, ‘यो ब्युँझने समय हो । हामी जाग्नै पर्छ किनकी हामीसँग धेरै समय बाँकी छैन ।’

आफ्नो चुनावी अभियानको क्रममा ट्रम्पले क्युबासँग पुनः सम्बन्ध स्थापित गर्नको लागि २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाद्वारा गरिएको सम्झौताको आलोचना गरेका थिए र त्यसबाट पछाडि हट्ने निश्चित गरेका थिए । जुनमा ट्रम्पले क्युबामाथि नयाँ यात्रा र कारोबार प्रतिबन्धको घोषणा गरेका थिए । एलिडाका अनुसार उक्त प्रतिबन्धले मेडिकल व्यवस्था र प्रविधिको क्षेत्रमा असर परेको छ ।

जीवनले चेलाई धेरै समय दिएन

द विकसँगको कुराकानीमा उनले आफ्नो पिता चे ग्वेभारालाई सम्झँदै भनिन्, ‘मैले उहाँसँग एकदमै कम समय बिताएँ । वास्तवमा म डराइरहेकी पनि थिएँ किनकी मैले उहाँलाई लगातार देख्न पाइनँ । यस्तो किन पनि भयो भने उहाँ घरमा धेरै बस्नु हुँदैनथियो । जब मलाई आमासँग सुत्नुपर्ने थियो तब म पिता घर नभएको बहाना बनाउँथेँ ।’

उनले भनिन्, ‘जब पिता घर आउनुहुन्थ्यो, उहाँले मलाई अँगालोमा उठाएर मेरो कोठामा लग्नुहुन्थ्यो र यति जोडसँग चुम्बन गर्नुहुन्थ्यो कि म निन्द्राबाट ब्युँझन्थेँ । तपाई कल्पना गर्न सक्नुहुन्छ कि एक मानिस जसलाई तपाईले मुस्किलले देख्न पाउनुहुन्छ, तपाई उसलाई रातको समयमा अचानक देख्नुहुन्छ ।’

एलिडा अगाडि भन्छिन्, ‘मलाई याद छ, एकातिर वहाँ अनुशासनलाई लिएर एकदमै गम्भीर हुनुहुन्थ्यो भने अर्कोतिर एकदमै स्नेही पनि हुनुहुन्थ्यो । उहाँले हामीलाई जीवनको मूल्य सिकाउनुभयो । जस्तो कि पुस्तकलाई माया गर्न, पढाईको महत्व र जनावर र मानिसलाई आदर गर्न हामीलाई उहाँले सिकाउनुभयो । यद्यपि उहाँलाई जीवनले यी सबै काम गर्न लामो समय दिएन ।

उनी भन्छिन्, ‘मेरो पिता प्रेम कसरी गर्नुपर्छ भन्ने थाहा भएको एक यस्तो व्यक्ति हुनुहुन्थ्यो र यसकारण नै उहाँ कम्युनिष्ट हुनुहुन्थ्यो ।’

टि-शर्टमा चे ग्वेभारा

टि-शर्टमा आफ्नो पिताको तस्बिरको विषयलाई लिएर उनी भन्छिन्, ‘यो पुँजीवादी समाजको बजारीकरण रणनीति हो । उनको छविको अनादर गरिन्छ भने हामी लड्छौं । उदारहणको लागि हामी उनको तस्बिरलाई कुनै बियर वा चुरोटको बट्टामा दुरुपयोग गरेको देख्न सक्दैनौं । उनको छविको अनुचित शोषण हामी स्वीकार्न सक्दैनौं ।’

चे ग्वेभाराका चार सन्तानमा सबैभन्दा ठूली र चर्चित एलिडा हवानाको विलियम सोलर चिल्ड्रेन्स अस्पतालमा चिकित्सक छिन् । कहिलेकाँही उनी परिवारको प्रवक्ताको भूमिकामा पनि प्रस्तुत हुन्छिन् । उनले हवानामा चे ग्वेभारा स्टडिज सेन्टर पनि चलाउँछिन् । यसको साथसाथै उनी क्युबा र विदेशमा हुने सामाजिक कामहरुमा पनि भाग लिन्छिन्

द वायरबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार