logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राजिव गान्धी युद्धपोत चढेर ससुराली जान्थे : नरेन्द्र मोदी


  • एजेन्सी
  • बिहिबार, बैशाख २६ २०७६

भारतमा लोकसभा निर्वाचन जारी रहेकै बेला राजनीतिक नेतृत्वबीच भारतीय सेना (राष्ट्रिय सेना)को विषयलाई चर्को आरोप प्रत्यारोप चलिरहेको छ । विशेषगरी भारतीय जनता पार्टीको नेतृत्व र काँग्रेस आइको नेतृत्वबीच राष्टिय सेनाको विषयलाई चर्को आरोप प्रत्यारोप चलेको हो ।

विशेषगरी भाजपाको तर्फबाट चुनाव लडिरहेका प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस आईको नेतृत्व गरिरहेका राहुल गान्धी र उनको परिवार यो मामलामा अघि देखिएका छन् । गान्धी परिवारले मोदीले सेनाभित्र राजनीति गरेको आरोप लगाइरहेको छ ।

उनीहरुले केही महिनाअघि पाकिस्तानविरुद्ध भएको आक्रमणलाई समेत यसैमा जोडेर विश्लेषण गरिरहेका छन् भने प्रधानमन्त्री मोदीले यसलाई इन्कार गरिरहेका छन् । यद्यपि, लोकसभा निर्वाचनमा मोदीले राष्टवादको नारालाई सैनिक शक्तिसँग जोडेर उराल्ने गरेको आरोप समेत लागिरहेको छ ।

यसरी कडा आरोप प्रत्यारोप चलिरहेका बेला बुधबार दिल्लीको रामलिला मैदानमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले गान्धी परिवारकै उछितो काडेका छन् । उनले सेनालाई चलाउने काम गान्धी परिवारले पहिलदेखिनै गर्दै आएको समेत बताए ।

भाजपाको आयोजनामा भएको सो जनसभालाई सम्बोधन गर्दै उनले राजिव गान्धीले त्यसबेला विराट युद्धपोत लिएर ससुराली जाने गरेको भन्दै व्यंग्य समेत गरे । उनले भने, ‘काँग्रेसको सबैभन्दा ठुलो नाम चलेका परिवारका सदस्य पनि विशाल सैनिक युद्धपोतलाई आफ्नो नीजि ट्याक्सीको रुपमा प्रयोग गरेर ससुराली जान्थे । त्यसले सेनाको मात्र होइन देशकै अपमान गरेको थियो ।’

प्रधानमन्त्री मोदीले भने, ‘सेना कसैको व्यक्तिगत जागिर होइन,त्यसैले कसैले त्यसलाई उपयोग गरेर ससुरालीमा छुट्टि मनाउन जान मिल्छ ? तर हाम्रो देशमा मिल्दो रहेछ । राजिव गान्धी युद्धपोत लिएर १० दिन छुट्टी मनाउन कुनै समुद्रको टापुमा गएका थिए, गान्धी परिवारका लागि त्यो सबै सुविधा सेनाले दिएको थियो ।’

प्रधानमन्त्री मोदीले दिल्लीमा निकै पावरफुल शक्तिको रुपमा रहेको आम आद्मी पार्टी विरुद्ध समेत शब्द खर्चिएका थिए । भारतमा ५ औं चरणको लोकसभा निर्वाचन सम्पन्न भैसकेको छ । छैठौ र सातौं चरणको निर्वाचन भने मे १२ र १९ मा हुँदैछ । नयाँ दिल्लीमा भने मे १२ मा निर्वाचन हुँदैछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार