logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

क्यास्त्रोका हत्याका लागि एक लाख डलर छुट्याएको खुलासा


  • राजनीति
  • आइतबार, कार्तिक १२ २०७४

वासिंगटन, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अगाडि पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित २ हजार ८ सय गोप्य फाइल सार्वजनिक गर्न आदेश दिएको थियो। ती फाइलहरू सार्वजनिक हुनुले केनेडीको हत्यालाई लिएर बनेको रहस्य खुल्ने अपेक्षा गरिएको छ।

अर्को विशेष चासोको विषय भनेको क्युबाका क्रान्तिकारी नेता र पूर्वराष्ट्रपति फिडेल क्यास्त्रोको हत्याका लागि अमेरिकाले रचेको षड्यन्त्रको भन्डाफोर हुनेछ। धेरै वर्षदेखि क्युबाको सरकारले अमेरिकी गुप्चर एजेन्सी सीआईएमाथि उनका कम्युनिस्ट नेता क्यास्त्रोको हत्याको षड्यन्त्र रचेको आरोप लगाउँदै आइरहेको छ।

एकातिर केनेडीको हत्याको पछाडि पनि क्यास्त्रोको हात रहेको कुरा पनि उठने गरेको छ भने अर्कोतर्फ वासिंटन र हवानाबीचको बढ्दो मेलमिलाप विरोधीहरूले उक्त घटना घटाएको भन्नेहरू पनि छन्।

बोस्टन कलेजमा प्रेसिडेन्सी इतिहासका प्रोफेसर प्याट्रिक मेनीले भने– ‘मेरो विचारमा क्यास्त्रोको हत्याका लागि सीआईएको प्रयास र केनेडीको हत्यामा केही न केही सम्बन्ध अवश्य छ। ली हार्भी ओस्वाल्डलाई सीआईएको योजनाका बारेमा थाहा थियो। सम्भवत त्यसैले पनि उनी केनेडीको हत्याका लागि प्रेरित भएका हुन्।

बिहीबार जारी गरिएका दस्तावेजबाट अमेरिकी खुफिया विभाग र फ्लोरिडाबाट आएका क्युबाका आप्रबासीबीचको बैठक भएको थियो, जसमा फिडेल क्यास्त्रोको हत्या गर्ने षड्यन्त्र रचेको थाहा भएको छ।
एउटा दस्तावेजमा क्युबाका नेता फिडेल क्यास्त्रोसहित त्यहाँका कयौं वरिष्ठ नेता मार्न मूल्य तोकेको छ। फिडेल क्यास्त्रोलाई मार्नका लागि १ लाख डलर, उनका भाइ राउल क्यास्त्रोलाई मार्न २० हजार डलर र चेग्वेभारालाई मार्नका लागि २० हजार डलर रकम दिने दस्तावेजमा लेखिएको थियो।

अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यालाई लिएर विभिन्न धारणाहरू आइसकेका छन्। यस घटनासँग जोडिएका गोप्य फाइल सार्वजनिक भएपछि उक्त हत्याको रहस्य खुल्ने अनुमान गरिएको छ। यद्यपि ट्रम्पले सुरक्षाका कारण केही फाइलहरू जारी गर्न रोक लगाएका छन्। यसको सबै दस्तावेज ५० लाख पृष्ठमा रहेको छ। यसको जारी गर्ने अन्तिम तिथि अक्टोबर २६ थियो।

सन् १९६३ नोभेम्बर २२ मा एउटा खुला गाडीमा सवार रहँदा गोली प्रहारबाट जोन एफ केनेडीको हत्या भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार