राजनीति
काठमाडौं,असार ७ । ट्विटरलाई आफ्नो देशमा प्रतिबन्ध लगाउँदै आएको चीनका राष्ट्रपति सी चिनफिङ ट्विटरमा नभएर के भयो र ? उनका राजदूतहरू देश हेरी ट्विटरमार्फत कूटनीतिक अभ्यास गर्न थाल्दै छन् । नेपालमा रहेकी उनकी प्रतिनिधिले शुक्रबार त्यसकै श्रीगणेश गरिन् ।
राजदूत होउ याङचीले ट्विटर एकाउन्ट खोलेको जानकारी सार्वजनिक गर्न दूतावासले संवाददाताहरूलाई इमेल गर्यो ।यो खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन्।
‘दक्षिण एसियाको विकास र समृद्धिका लागि बेल्ट एन्ड रोडबारे चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन पाउँदा हर्षित छु,’ उनले पहिलो ट्विट अंग्रेजीमै गरिन्, ‘दक्षिण एसियाली देशलगायत छिमेकीसँग आर्थिक र सामाजिक विकासलाई प्रवर्द्धन गर्न चीनले बीआरआईअन्तर्गतको साझेदारीलाई थप अघि बढाउनेछ ।’
ट्विटर संसारमा चिनियाँ राजदूतको उपस्थितिलाई धेरैले स्वागत गरेका छन् । केही घण्टामै उनका ६ सय फलोअर पुगे । साँझसम्ममा ४२ जनाले उनको ट्विट रिट्विट र ६ सय २ ले लाइक गरेका छन्।
जानकारहरूका अनुसार नेपाली नीतिनिर्मातामाझ सम्पर्कमा रहन र आफ्ना कुरा नेपालीमाझ पुर्याउन ट्विप्लोमेसी प्रभावकारी हुने देखेर राजदूत याङची ट्विटर अकाउन्ट खोल्ने निर्णयमा पुगेकी हुन् ।
काठमाडौंस्थित कूटनीतिक नियोग प्रमुख ट्विप्लोमेसीमा सक्रिय हुन थालेकाले पनि ट्विटर संसारमा आफ्नो उपस्थिति बलियो पार्न याङची अघि सरेकी हुन् । बेलायत, अमेरिका र भारतका राजदूतले दिनहुँजस्तो ट्विट गरेर नेपालमा भएका आफ्नो दूतावासका गतिविधि सार्वजनिक गर्दै आएका छन्।
शुक्रबारमात्र भारतीय राजदूत मञ्जिभसिंह पुरीले विश्व योग दिवसमा लैनचौरस्थित नियोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको खबर तस्बिरसाथ ट्विट गरे, जसमा उनले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि मेन्सन गरेका छन् ।
त्यसैलाई तुरुन्त रिट्विट गर्दै मोदीले लेखे, ‘नेपालमा योग दिवसलाई नेतृत्व गर्दै गरेका मेरा मित्र केपी ओलीको गज्जबको भंगिमा ।’
ओली स्वयंले गरेको योग दिवसको शुभकामना ट्विटलाई पनि टिप्पणीका साथ रिट्विट गर्दै मोदीले नेपालीमै लेखेका थिए, ‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रूपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुभोशित गर्नुभएकामा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’
ट्विटरमार्फत नियमित रूपमा ‘राजदूतसँग गफगाफ’ कार्यक्रम चलाउँदै आएका अमेरिकी राजदूत र्यान्डी बेरीले शुक्रबारै परेको विश्व संगीत दिवसलाई सम्झिँदै दूतावासले तयार पारेको एक म्युजिक भिडियो ट्विट गरे ।
ट्विटमार्फत राजनीति र कूटनीति गर्नेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बढी अग्रसर छन् । दिनहुँ दर्जनभन्दा बढी ट्विट गर्ने र हरेक ट्विटले कुनै न कुनै विरोधाभास सिर्जना गर्ने ट्रम्पको शैलीका कारण उच्चपदस्थ एवं सामाजिक बहसकर्तामाझ ट्विटरको लोकप्रियता बढेको पश्चिमा सञ्चार माध्यमको विश्लेषण छ।
ट्विटर प्रयोग गरी आफ्नो धारणा फैलाउने र प्रभाव बढाउने कामलाई अर्थ्याउन हालैका वर्षमा एउटा शब्द निर्माण भएको छ, ‘ट्विप्लोमेसी’ अर्थात्ट्विटरको डिप्लोमेसी ।
चीनले आफ्नो देशभित्र भने अमेरिकी सामाजिक सञ्जालहरूको सट्टा आफ्ना उस्तै सञ्जाल चलाएको छ । ट्विटरजस्तै उसको आफ्नै माध्यम विइबो प्रयोगकर्ताको संख्या नै विश्वभर ट्विटर प्रयोगकर्ताभन्दा बढी छ भनिन्छ।