logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अमेरिकालेे गुफाभित्र तेल लुकाउछ किन ? यस्तो छ रहस्य


  • एजेन्सी
  • आइतबार, असोज ५ २०७६

साउदी अरेबियाका मुख्य तेल प्रशोधनस्थलहरूमा आक्रमणपछि अमेरिका जमिनमुनि राखेको तेलको ठूलो आपत्कालीन भण्डार उपयोग गर्ने योजनामा छ । प्रशोधनस्थलमा ठूलो आगलागीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजारमा तेलको सहज आपूर्तिका लागि अमेरिकाले आपत्कालीन प्रयोगका लागि भण्डारण गरेको तेल प्रयोग गर्न सकिने बताएका थिए ।

टेस्सास र लुजियान राज्यमा नुनिला गुफामा भण्डारण गरिएको ६४० मिलियन ब्यारेलभन्दा बढी तेल प्रयोग गर्न सकिने ट्रम्पले संकेत गरेका थिए । अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए) का सबै सदस्य राष्ट्रहरूले ९० दिनलाई पुग्ने बराबरको पेट्रोलियम पदार्थ भण्डारण गर्नैपर्ने प्रावधान छ । तर, अमेरिकाको भण्डारण विश्वमै सबैभन्दा ठूलो आपत्कालीन भण्डारण हो ।

अमेरिकाले किन गर्‍यो आपत्कालीन भण्डारण ?
आफ्नो देशमा तेल भण्डारण गर्ने अवधारणा अमेरिकामा सन् १९७० को दशकदेखि नै विकसित भएको हो । मध्यपूर्वी राष्ट्रहरूले तेलमाथि प्रतिबन्ध लगाएपछि संसारभर तेलको मूल्य आकासिएसँगै सो धारणा विकसित भएको थियो । सन् १९७३ को अरब र इजरायलबीचको युद्धमा अमेरिकाले इजरायललाई समर्थन गरेपछि पेट्रोलियम निर्यातक देशहरूको संगठनका सदस्य राष्ट्रहरू इराक, कुवेत, कतार र साउदी अरबले अमेरिकामा तेल निर्यात गर्न अस्वीकार गरेका थिए ।

सो युद्ध सोही वर्षको अक्टोबर महिनाको तीन सातासम्म मात्र चल्यो । तर, अमेरिकाबाहेक अन्य देशहरूलाई पनि लक्षित गरिएको पेट्रोलियम पदार्थमाथिको प्रतिबन्ध सन् १९७४ को मार्च महिनासम्म रह्यो, जसका कारण विश्वव्यापी रूपमा तेलको मूल्य प्रतिब्यारेल तीन डलरबाट प्रतिबयारेल १२ डलरसम्म पुग्यो । पेट्रोलियम पदार्थमा चार गुणा मूल्यवृद्धिपछि अमेरिकालगायत केही देशमा आर्थिक गतिविधि नराम्रोसँग प्रभावित भयो । चार साता युद्धको परिणामपछि उत्पन्न तेल संकटले विश्वको अर्थतन्त्र चार वर्षपछि धकेलिदियो । प्रभावित देशहरूमा तेल भर्न लागेका लामा लाइनको तस्बिरले विकसित देशमा तेल संकट कति देखिएको थियो भन्ने चित्रण गर्छ । सोही संकटपछि अमेरिकी कंग्रेसले ऊर्जा नीति तथा संरक्षण ऐन १९७५ पारित गर्‍यो । युद्धलगायत आपत्कालीन समयमा तेलको संकट नहोस् भनेर उसले रणनीतिक पेट्रोलियम रिजर्भ स्थापना गर्‍यो ।

कसरी गरिन्छ आपत्कालीन भण्डार ?
टेक्सासको फ्रिपोर्ट र विनी तथा लुजियानाको लेक चाल्र्स र बाटन रोगको बाहिरी भागमा गरी चार क्षेत्रमा आपत्कालीन तेल रिजर्भ गरिएको छ । प्रत्येक क्षेत्रमा झन्डै एक किलोमिटर गहिरा नुनिला गुफा बनाइएको छ, जहाँ तेल भण्डारण गरिएको छ । जमिनमाथि ट्यांकमा राख्नुभन्दा गुफामा राख्दा कैयौँ गुणा सस्तो र सुरक्षित हुने बताइन्छ । नुनको रासायनिक बनोट र भौगर्भिक दबाबले गुफाबाट तेल चुहावट हुनबाट जोगाएको छ । फ्रिपोर्ट नजिकको सबैभन्दा ठूलो भण्डारणकक्ष ब्रायन मोल्डमा २५४ मिलियन ब्यारेल तेल अट्ने क्षमता छ । सो रिजर्भको वेबसाइटका अनुसार सेप्टेम्बर १३ मा ती गुफामा ६४४ दशमलव ८ मिलियन ब्यारेल तेल राखिएको छ ।

अमेरिकाको ऊर्जा सूचना प्रशासनका अनुसार सन् २०१८ मा अमेरिकीले औसत दैनिक २० दशमलव ५ मिलियन ब्यारेल पेट्रोल उपयोग गरेका थिए । त्यसको अर्थ देशमा थप ३१ दिनका लागि तेल पुग्छ ।

राष्ट्रपतिको अनुमतिपछि सञ्चित तेलको प्रयोग
सन् १९७५ को हस्ताक्षरित कानुनअनुसार ऊर्जा प्रवाहमा गम्भीर अवरोध भएमा राष्ट्रपतिले मात्र सञ्चित गरेको तेल उपयोगका लागि अख्तियारी दिन सक्छन् । यसको अर्थ राष्ट्रपतिबाट तेल निष्कासनका लागि अख्तियार नपाएसम्म बजारमा तेल निष्कासन हुन दुई साता लाग्नेछ ।

महत्वपूर्ण पक्ष के भने भण्डारण गरिएको तेल परिष्कृत गरिएको हुँदैन । कार, जहाज, विमानमा प्रयोग गर्नुअघि यसलाई इन्धनका रूपमा प्रशोधन गर्नु आवश्यक पर्छ । अमेरिकी ऊर्जामन्त्री रिक पेरीले साउदीको आक्रमणपछि आपत्कालीन तेल भण्डारण प्रयोग गर्ने विषयमा वार्ता गर्ने कुरा प्रिम्याचुअर हुने बताए ।

कस्तो अवस्थामा सञ्चित तेल प्रयोग गरियो ?
सबैभन्दा पछिल्लोपटक सन् २०११ मा गुफामा राखिएका सञ्चित तेल प्रयोग गरिएको थियो । अरब क्रान्तिपछि उत्पन्न तेल संकट सम्बोधन गर्न आइइएका सदस्य राष्ट्रहरूले कुल ६० मिलियन ब्यारेल निष्कासन गरेका थिए । अमेरिकाले भण्डारण गरिएको तेलको ठूलो परिणाम कहिलेकाहीँ बिक्रीसमेत गर्ने गरेको छ । सन् १९९१ मा खाडी युद्धका समयमा राष्ट्रपति जर्ज एचडब्लु बुसले सञ्चित तेल उपयोग गर्न अख्तियारी दिएका थिए । त्यस्तै, उनका छोरा जर्ज डब्लु बुसले सन् १९९१ मा समुद्री आँधी क्याट्रिनापछि ११ मिलियन ब्यारेल तेल बिक्री गर्न अनुमति दिएका थिए ।

सञ्चित तेल बन्द गर्न सुझाब
अमेरिकामा ऊर्जा उत्पादनले तीव्रता लिइरहेका वेला ठूलो परिमाणमा तेल भण्डारण गर्ने सरकारी रणनीतिप्रति प्रश्नसमेत उठेको छ । यस्ता तेल प्रशोधनस्थल पूर्ण रूपमा बन्द गरिनुपर्ने केही विज्ञहरूको सुझाब छ । गभर्मेन्ट अकाउन्टेबिलिटी अफिसले सन् २०१४ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सञ्चित तेलकै कारण अमेरिकी उपभोक्ताले पम्पबाट सस्तोमा पाउन सक्ने जनाइएको थियो ।

सन् २०१७ मा आर्थिक अभाव टार्न ट्रम्प प्रशासनले सञ्चित तेलमध्ये आधा बिक्री गर्ने योजना बनाएको थियो । सन् १९९७ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको प्रशासनले आर्थिक समस्या सम्बोधन गर्न २८ मिलियन ब्यारेल तेल बिक्री गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार